FLASH NEWS

भुटानी शरणार्थी नेता ‍टेकनाथ रिजाल पक्राउ


नेपाल आवाज ४ जेष्ठ २०८०, बिहीबार १८:५७ मा प्रकाशित २६६५ पाठक संख्या

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । बिहीबार अपरान्ह ५ बजे उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले काठमाडौंबाट पक्राउ परेको हो ।


नक्कली शरणार्थी प्रकरणमा रिजालको भूमिका के हो भन्ने प्रहरीले खुलाएको छैन । नेपालमा रहेका भुटानी शरणार्थीको अधिकारका पक्षमा उनले लामो समयदेखि पैरवी गर्दै आएका थिए । तर, नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोज्ने प्रकरणमा उनको नाम मुछिएपछि प्रहरीले खोजी गरिरहेको थियो । केशव दुलाल, सानु भण्डारी लगायतले दिएको बयानका आधारमा उनीमाथि प्रहरीले निगरानी बढाएको थियो ।

यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १५ जना पक्राउ परिसकेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार नै हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परिसकेका छन् ।

पक्राउ परेकालाई राष्ट्रहित प्रतिकूलको कार्य गरेको अभियोग पनि लगाउने तयारी भएको छ । काठमाडौं प्रहरी परिसरले अनुसन्धान प्रतिवेदन तयारीलाई अन्तिम चरणमा पुर्याइरहेका बेला ‘राष्ट्रहित प्रतिकूलको कार्य नगर्न नहुने’ कसुरमा पनि मुद्दा चलाउन सिफारिस गर्ने तयारी गरेको छ । काठमाडौं प्रहरी परिसरले शुक्रबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाउँदै छ ।

प्रस्तावित रायमा ठगी, सरकारी कीर्ते, संगठित अपराध र ‘राष्ट्रहित प्रतिकुलको कार्य गर्न नहुने’ कसुरमा मुद्दा चलाउन सिफारिस उल्लेख गर्ने तयारी भएको परिसर स्रोतले बताएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा ५१ मा राष्ट्रहित प्रतिकुलको कार्य गर्न नहुने उल्लेख छ । उक्त दफाको उपदफा २ (क)मा उल्लेख भएको ’नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखन्डता, राष्ट्रियता, स्वाधिनता, स्वाभिमान वा नेपालको अन्तर्राष्ट्रिय छवी उपर अपमान हुने, होच्याउने वा घृणा वा द्वेष फेलाउने’ कसूरमा मुद्दा चलाउन सिफारिस गर्ने तयारी भइरहेको बताइएको छ। उक्त कसुर गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।