FLASH NEWS

शरणार्थी प्रकरणमा पक्राउ परेका रिजाल र मियाँलाई भोलिसम्म हिरासतमा राख्न अनुमति


नेपाल आवाज ४ जेष्ठ २०८०, बिहीबार २१:१५ मा प्रकाशित ३०३१ पाठक संख्या

काठमाडौं – नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणमा पक्राउ परेका भुटानी नेता टेकनाथ रिजाल र  नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई दुई दिन म्याद थप गरिएको छ।


उनिहरुलाई प्रहरीले आजै काठमाडौं जिल्ला अदालत हाजिर गरेको थियो। जिल्ला अदालतले अनुसन्धानका लागि दुई दिन म्याद थप अनुमति दिएको हो। यसअघि नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनाको पनि भोलिसम्म हिरासतमा रहनेगरी म्याद थप भएको थियो।

हालसम्म नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ। यो प्रकरणमा यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा । इन्द्रजित राई, खाँणका निजी सचिव नरेन्द्र केसी पक्राउ परेका थिए। त्यसैगरी नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पा, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप, रामशरण केसी, गोविन्द चौधरी, सागर राई, टंकबहादुर गुरुङ, केशव दुलाल र सानु भण्डारी पक्राउ परिसकेका छन्। यस्तै, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाले आत्मसमर्पण गरेका थिए। पक्राउ पुर्जी जारी गरिएका अन्य दुईजना फरार छन्।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर बुधबारसम्ममा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउन निर्देशन दिएपछि प्रहरीले अझै अनुसन्धान जारी राखेको छ । ६० दिनभित्र प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलमार्फत अदालतमा मुद्दा पेश गरिसक्नुपर्छ ।