FLASH NEWS

नीति तथा कार्यक्रम ‘कर्मकाण्डी दस्तावेज’ भएको एमालेको आरोप


नेपाल आवाज ५ जेष्ठ २०८०, शुक्रबार २२:५६ मा प्रकाशित १४३५ पाठक संख्या

काठमाडौं – सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले कर्मकाण्डी दस्तावेज भएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सो प्रतिक्रिया दिएका हुन् ।


एमाले सचिव योगेश भट्टराईले नीति तथा कार्यक्रममा अहिले भोगिरहेका समस्याको समाधान गर्ने ठोस उपाय र प्रस्तावहरू नरहेको बताए । ‘कार्यक्रममा आर्थिक, सामाजिक चुनौती सम्बोधन गर्ने, सुशासन, भ्रष्टाचारलाई सम्बोधन गर्ने ठोस र प्रभावकारी कुरा छैनन्,’ उनले भने ।

यसै क्रममा नेताहरूको मिश्रित प्रतिक्रिया दिएको छ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले नीति तथा कार्यक्रम निरन्तरतामा १९ को २० गर्नेगरी आएको टिप्पणी गरेका छन्। उनले केही वर्षमा आमुल परिवर्तन गर्नेगरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए। साथै, उनले २ अंकको वृद्धिदर र वर्षेनी ५–७ लाख रोजगारी नहुँदासम्म केही हुन नसकिने उनले बताएका छन्।

त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारको नीति तथा कार्यक्रम अनावश्यक ढंगको लामो र पट्यारलाग्दो भएको प्रतिक्रिया दिएका छन्। अधिकांश पुरानै नीति र कार्यक्रमको कपिपेष्ट गरि शब्द र सन्दर्भ तलमाथी पारिएको भन्दै थापाले नीति तथा कार्यक्रम कार्यान्वयन हुनै नसक्ने कार्यक्रमको पुलिन्दा भएको समेत टिप्पणी गरे।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नीति कार्यक्रम कर्णप्रियसहित सबै राम्रा कुरा मात्र समेटिएको प्रतिक्रिया दिए । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नीति कार्यक्रम लामो निबन्ध र दन्त्यकथा जस्तो देखिएको बताए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नीति कार्यक्रम सनातनी खालको भएकाले कार्यान्वयन गर्न र राष्ट्रका समस्या समाधान गर्न नसक्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले नीति कार्यक्रम राम्रै लागेको बताए । उनले भने, ‘विगतको जस्तै छ, यस्ता कार्यक्रम पहिला पनि आएका हुन्, कार्यक्रम ल्याउनु ठूलो कुरा होइन, कार्यान्वयन गर्नु प्रमुख कुरा हो ।’

नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले नीति कार्यक्रममा सबै क्षेत्रलाई समेटिएको बताए । ‘आर्थिक अवस्थालाई मध्यनजर गरेर विगतको वर्षजस्तो कनिका छरेजस्तो होइन, विकासका लक्ष्यसहित पूर्वाधारमा लगानी गर्नुपर्छ,’ उनले भने, ‘अहिलेको आर्थिक मन्दीलाई सम्बोधन गर्ने गरी बजेट निर्माण गर्नुपर्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले नीति कार्यक्रमले आजको आर्थिक जटिलतालाई सम्बोधन नगरेको बताए । ‘आर्थिक संकट र राजनीतिक अन्योललाई पार लगाउने गरी नीति कार्यक्रम आएको छैन, विगतका भन्दा फरक छैन,’  ‘अब पनि हामीले अमूर्त कुरा गरेर हुँदैन। अहिलेको संकटलाई सम्बोधन गर्ने गरी कार्यक्रम आएन।’

एमाले सचिव एवम् प्रतिनिधिसभाका सांसद् योगेश भट्टराईले नीति तथा कार्यक्रमलाई ज्यान भएको तर प्राण नभएको संज्ञा दिएका छन् । नीति तथा कार्यक्रमले अहिलेका समस्या सम्बोधन गर्ने ठोस आधार दिन नसकेको पनि उनले बताए।

नेमकिपाका सांसद प्रेस सुवालले नीति तथा कार्यक्रमलाई दन्त्य कथाको संज्ञा दिएका छन् । उनले भने, पराराष्ट्रमा असंलग्न र पञ्चशिलको सिद्धान्त भनेपछि हाम्रो परराष्ट्र नीति अगाडि बढ्छ भनेपनि त्यो नीति हो । तर, यसमा के लेख्या छ रुसले युक्रेनमा आक्रमण गर्यो रे । त्यो चाहिने कुरा हो ?’ ठोस रुपमा नआएकाले अमुर्त भएको टिप्पणी गरे ।

नेपाली कांग्रेसका सांसद जीवन परियारले नीति कार्यक्रमले विकास निर्माण, कृषि, ऊर्जा, पर्यटन, रोजगारीलगायत विविध विषयमा प्राथमिकता दिएको बताए ।