FLASH NEWS

दोस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिता आजबाट


नेपाल आवाज ७ जेष्ठ २०८०, आईतवार १०:११ मा प्रकाशित ८५९ पाठक संख्या

मकवानपुर – दोस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिता आज आइतबारबाट सुरु हुँदैछ ।


हेटौंडा उपमहानगर-५ स्थित पिप्ले क्याम्पा रंगशालामा आज साँझ ५ बजे हुने एक कार्यक्रमका बीच बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रतियोगिताको उद्घाटन गर्ने छन् ।

बागमती प्रदेशका १३ जिल्लाको सहभागिता रहने प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, उसु, जुडो, क्रिकेट, रग्वी, ब्याडमिन्टन, पौडी र आइटिएफ तेक्वान्दो गरी १३ प्रकारको खेलहरु हुने आयोजक प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।

प्रतियोगितामा प्रदेशका १ हजार ४२७ पुरुष र १ हजार ७५ महिला खेलाडी गरी २ हजार ५०२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता अन्तर्गत पुरुष फुटबल जेठ ८ गतेबाट १३ गतेसम्म हेटौंडा स्थित पिप्ले क्याम्पा रंगशालामा हुनेछ भने महिला फुटबल जेठ ८ गतेबाट १० गतेसम्म गौरीटार रंगशालामा सञ्चालन हुनेछ । एथलेटिक्सका खेलहरु जेठ ८ बाट १० गतेसम्म हुनेछ ।
यसैगरी, महिला र पुरुष भलिबल जेठ ८ गतेबाट १० गतेसम्म हेटौंडा स्थित हुप्रचौरमा हुनेछ ।

रग्बी, कराते, ब्याडमिन्टन, तेक्वान्दो र आइटिएफ तेक्वान्दो जेठ ८ गतेबाट १० गतेसम्म हेटौंडामा हुनेछ ।

यस्तै बक्सिङ जेठ ८ गतेबाट १३ गतेसम्म, उसु जेठ ९ गतेबाट ११ गतेसम्म, जुडो जेठ १० गतेबाट १२ गतेसम्म काठमाडौंमा, पौडी जेठ १० गतेबाट १२ गतेसम्म ललितपुरमा, क्रिकेट महिला जेठ ८ गतेबाट र पुरुष क्रिकेट जेठ ९ गतेबाट १३ गतेसम्म चितवनमा सम्पन्न हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ९ करोड ४२ लाख खर्च हुने आयोजक प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।

यसअघि २०७८ को फागुनमा सम्पन्न प्रथम प्रदेश खेलकुद प्रतियोगितामा ८ करोड ४ लाख रुपैयाँ खर्च भएको थियो । यसपटक अघिल्लो पटकको भन्दा १ करोड रुपैयाँ बढी खर्च हुने आयोजकको अनुमान छ ।