FLASH NEWS

पूर्वराजा ज्ञानेन्द्र शाहलाई धनगढीमा ‘नागरिक अभिनन्दन’ गरिने


नेपाल आवाज ७ जेष्ठ २०८०, आईतवार १६:११ मा प्रकाशित ६५५९ पाठक संख्या

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई धनगढीमा अभिनन्दन गरिने भएको छ । पूर्वराजा आउने भएपछि समर्थकले उनको अभिनन्दन र भ्रमणको तयारी थालेका छन् । ७ जेठमा शाह परिवारका सदस्यसहित धनगढी आइपुग्ने तय भएको बताइएको छ ।


राष्ट्रिय प्रजातन्त्र पार्टी,राष्ट्रिय शक्ति नेपाल,शिवसेना नेपाल लगायतको अगुवाइमा राजतन्त्र पक्षधरहरूले ८ जेठमा पूर्वराजालाई सोमवार दिउँसो ३ बजे धनगढीको रङ्गशाला  मैदानमा ‘नागरिक अभिनन्दन’ गर्ने तयारी गरेका छन् ।

त्यसका लागि एक हजार एक सय सदस्यीय नागरिक अभिनन्दन मूल समारोह समिति गठन गरिएको छ । भ्रमणलाई लक्षित गरेर राजतन्त्र पक्षधरले  ठाउँ ठाउँमा पूर्वराजाका तस्बिरसहित पोस्टर टाँसिएका छन् भने यसका साथै स्वागत गेट,कार्यक्रम स्थल सजावट गरिएको छ ।

नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजक जयन्त चन्दले विभिन्न उपसमिति गठन गरेर पूर्वराजाको अभिनन्दन र भ्रमणको तयारी भइरहेको बताए । पूर्वराजा शाह केही दिन सुदूरपश्चिममा रहने र उनले यहाँका प्रसिद्ध मठमन्दिर र धार्मिकस्थलको दर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यसअघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम हुने तय भएको थियो। तर, नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द र आन्दोलन घोषणा गरेकाले भ्रमण स्थगित भएको थियो।

पूर्वराजा शाह पछिल्लो समय आफ्नो सक्रियता बढाएका छन् । आउदो जेठ १३ गते दिउँसो २ बजे कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा हुने नागरिक अभिनन्दन कार्यक्रममा सरीक हुँदै छन् । देशका विभिन्न जिल्लाको भ्रमणमा निस्किएका उनी केही दिनअघि नेपालगन्जमा गरिएको नागरिक अभिनन्दनमा सहभागी भएका थिए ।

त्यहीँबाट रुपैडिया नाका हुँदै भारत गएका शाहले भारत भ्रमणका क्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण अनिश्चित भइरहेको बेला उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वैशाख २७ गते आफ्नै कार्यकक्षमा भेट गरेका थिए । उत्तर प्रदेशका मुख्यमन्त्री र पूर्वराजाबीचको भेटबारे यता संसद्मा पनि चर्चा भएको थियो । पूर्वराजाको सक्रियतालाई कतिपयले हिन्दू राष्ट्र फर्काउने प्रयत्नको रूपमा बुझेका छन् ।