FLASH NEWS

सन्दीपविद्धको मुद्दामा किशोरीको जन्मदर्ताको सक्कलै फाइल मगाउन आदेश


नेपाल आवाज ७ जेष्ठ २०८०, आईतवार २१:४८ मा प्रकाशित १२५५ पाठक संख्या

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा आइतबार अन्तिम सुनुवाइ भए पनि फैसला भने भएको छैन ।


यसअघि पनि पटक पटक पेशी तोकिएर सुनुवाइ हुन नसकेको उक्त मुद्दा आइतबार न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा परेको थियो ।

तर, अदालतले दुवै पक्षको बहस सुनसकेपछि सन्दीपविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गराएकी किशोरी गौशाला २६ को जन्मदर्ताको सक्कलै फाइल मगाउन आदेश दिएको छ ।

न्यायाधीश पराजुलीको इजलासले किशोरीको जन्मदर्ता भएको भनिएको वडा कार्यालयको सक्कलै फाइल हेरेपछि मात्रै यो मुद्दामा अन्तिम निर्णय दिने निर्णय लिएको हो ।

यो प्रकरणमा यसअघि वडा कार्यालयले अदालतलाई जन्मदर्ताको प्रतिलिपिसहित जवाफ पठाएको थियो । तर, यस पटक अदालतले उक्त जन्मदर्ताको सक्कलै फाइल मगाएकोहो ।

सर्वोच्च अदालतले यो मुद्दाको अन्तिम टुंगो फास्ट ट्रयाकमा टुंग्याउन निर्देशनात्मक आदेश दिएको थियो । तर, सर्वोच्चको आदेश आएको तीन महिना बितिसक्दा पनि जिल्ला अदालत काठमाडौंले टुंगो लगाउन सकेको छैन ।

यसअघि अघिल्लो वर्ष भदौमा लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

तर, जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गर्दै सन्दीपलाई गत पुस २९ गते २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो । लामिछाने पक्षले पुर्पक्षको बहसदेखि नै मुद्दाको जाहेरवाली नाबालिग नरहेको दाबी गर्दै आएको छ ।

उनीहरूले जाहेरवालाको नागरिकताको प्रमाणपत्रमा रहेको जन्ममिति (२०६२ जेठ १८) गलत रहेको जिकिर गरिरहेका छन् । लामिछानेका कानून व्यवसायीले जाहेरवालाको जन्मदर्ता र विद्यालय प्रमाणपत्रहरू पेस गर्दै पीडितको जन्म मिति २०६१ असार १८ गते रहेको दाबी गरेका थिए । जसअनुसार पीडितको उमेर घटना हुँदाको समय (२०७९ भदौ ५) मा १८ वर्ष पुगिसकेको देखिन्छ ।