FLASH NEWS

‘भोलिको नेपाल बनाउन नेपाली जनतालाई नै जिम्मा दिउँ’ : पूर्वराजा ज्ञानेन्द्र शाह


नेपाल आवाज ८ जेष्ठ २०८०, सोमबार १७:३९ मा प्रकाशित ३१९९ पाठक संख्या

धनगढी – पूर्वराजा ज्ञानेन्द्र शाहले धनगढीमा नागरिक अभिनन्दनका क्रममा सोझासाझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च खुल्दै गएको बताएका छन्। उनले भोलिको नेपाल बनाउन नेपाली जनतालाई नै जिम्मा दिन पनि अपिल गरेका छन्।

उनले सोमबार नागरिक अभिनन्दनका क्रममा भने- ‘नेपाली जनतालाई आफ्नो भू – भाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन, त्यसबाट हाम्रो इज्जत, गौरब सबै लोप भएर गएको छ । देशभित्रै बसौं, देशमै पसिना बगाउँ र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउँदै गएको छ।’


उनले ‘नयाँ नेपाल’प्रति व्यंग्य गर्दै प्रश्न गरेका छन्-  के नयाँ नेपाल भनेको यही हो ? के अग्रगामी भनेको पराबलम्बी नेपाल हो ? के नेपालको आफ्नो अस्तित्व छैन ? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन ?

उनले नेपालको दारुण दृश्य देख्दा सबैको आँखा रसाउँदै गएको उल्लेख गर्दै आजको युग विकास र प्रविधिको भएको तथा आफ्नै श्रोत साधन र आफ्नै सामर्थ्य र आफ्नै स्वतन्त्र सत्ताद्वारा नेपालीले आफ्नो युगानुकूल उन्नति चाहेको बताएका छन्।

उनले भनेका छन्- ‘सोच्ने बेला आयो अब कुन के कस्तो राष्ट्रिय दृष्टिकोण हामीले लिने ? कस्तो प्रणाली पद्धति र परिपाटी हामीले अँगाल्ने ? सोचौं गहिरिएर सोचौं ,अझ दिलैदेखि सोचौं, नेपाली भएर सोचौं, नेपाल आमाको हावापानी माटो र मुटुलाई छोएर सोचौं , देशभन्दा ठूलो अरु केही हुँदैन।’

उनले नेताहरुप्रति इंगित गर्दै भने- ‘आजको टड्कारो अवस्थालाई नदेखेको र नबुझेको जस्तो गरेर, कुरा बटारेर , अरुलाई अल्मल्याएर र निषेध गरेर अनि कोठे र ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविष्य सप्रिदैन । भोलिको सुन्दर सपनालाई साकार र विपना बनाउन नेपाली मत, मान्यता तथा मनोभावना अनुसार – नेपाली जनतालाई नै जिम्मा दिउँ – यसैमा हाम्रो कल्याण छ ।’

धनगढी रंगशालामा आयोजित अभिनन्दन कार्यक्रममा सुदुरपश्चिमका जिल्लावाट सयौं सर्वसाधारण सहभागी भएका थिए । शाह भारतको उत्तर प्रदेशको भ्रमण सकेर अभिनन्दनमा सहभागी भएका हुन । यसअघि उनको नेपालगञ्जमा नागरिक अभिनन्दन गरिएको थियो ।

पूर्वराजा शाहले धनगढीमा दिएको सम्बोधनको पूर्णपाठ: