FLASH NEWS

शरणार्थी प्रकरण : संसदीय विशेष समितिमार्फत छानविन गर्न रास्वपाकाे माग


नेपाल आवाज १० जेष्ठ २०८०, बुधबार १२:१९ मा प्रकाशित ११८३ पाठक संख्या

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गरेको छ ।


बुधबार प्रतिनिधिसभा बैठकको सुरूमै रास्वपाका सांसदहरूले उठेर अहिले भइरहेको छानबिन र अनुसन्धानप्रति आशंका व्यक्त गर्दै संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गरेका हुन् ।

सभापति रवि लामिछानेले राज्यका निकाय र अनुसन्धान गर्ने अधिकारीका प्रमुखहरूको नाम आइरहँदा सामान्य सोधपुछसमेत नगरिएको भन्दै आपत्ति जनाए ।

‘यो अँध्यारो कोठा र गल्लीमा भएका क्रियाकलाप छ । बालुवाटार, सिंहदरबार मन्त्री क्वार्टरमा लेनदेन भएका कुरा आइरहेका छन् । यहाँ कसलाई विश्वास गर्ने ? विश्वासको वातावरण बन्द भएको छ । संसदीय विशेष समिति बनाएर छानबिन होस्, लामिछानेले भने ।

प्रहरीले लामो अनुसन्धान सकेर प्रतिवेशदन बुझाइसकेको र सरकारी वकिलको कार्यालयले आरोपीहरुविरुद्ध अभियोजन दर्ता गर्ने अन्तिम तयारी गरिरहँदा यस प्रकरणमा जोडिएर नयाँ नामहरु बाहिर आएका छन् ।

एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त तथा पूर्व गृहसचिव प्रेमकुमार राई, प्रहरीका आईजीपी वसन्त कुँवर समेतको नाम यस प्रकरणमा जोडिएको छ ।

यस प्रकरणमा गिरोहका नाइकेहरूले सिंहदरबार र बालुवाटारमै गएर करोडौँ रुपैयाँ लेनदेन गरेको’ समाचार बाहिरिएपछि थप नाम पोलिएकाहरुमाथि पनि छानविन हुनुपर्ने चौतर्फी दबाव बढेको छ ।