FLASH NEWS

राजदूत शर्माले भेटे भारतीय विदेश मन्त्री


नेपाल आवाज ११ जेष्ठ २०८०, बिहीबार १५:१४ मा प्रकाशित २२२१ पाठक संख्या

काठमाडौं – भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्।


राजदूत शर्माले सामाजिक सञ्जालमार्फत् विदेशमन्त्री जयशंकरको कार्यकक्षमा बिहीबार भएको भेटबारे जानकारी दिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण अर्को साता हुँदै छ। भारत भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गर्ने तयारी छ।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे छलफल गर्न राजदूत शर्माले विदेश मन्त्री जयशंकरसँग भेट गरेको देखिन्छ।

भेटमा दुबै जनाले आगामी दिनमा नेपाल भारत सम्बन्धलाई झन् गहिरो र मजबुद् बनाउने इच्छा र प्रतिवद्धता व्यक्त गरेको राजदूत शर्माले उल्लेख गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वैशाखमै भारत भ्रमणको तयारी गरेका थिए । तर नक्कली भुटानी शरणार्थी प्रकरण र नयाँ बजेटको तयारी लगायतका कारण उनले भ्रमणको मिति पछि सारेका थिए ।

भारत भ्रमण द्विपक्षीय हित प्रवर्द्धन, सम्बन्ध अभिवृद्धिमा मात्रै नभएर सीमा लगायतका समस्या समाधानमा पनि केन्द्रित रहने भनेर प्रधानमन्त्री ‘प्रचण्ड’ले बताउँदै आएका छन्।