FLASH NEWS

बाँदर नियन्त्रणको माग राख्दै धादिङका किसान आन्दोलित


नेपाल आवाज १३ जेष्ठ २०८०, शनिबार ०७:३७ मा प्रकाशित २१७३ पाठक संख्या

मलेखु – खेतबारीमा लगाएको अन्नपात र फलफूल बाँदरले सखाप पारेपछि धादिङका किसान आन्दोलित भएका छन्। वर्षभरि खाने अन्नपात फल लाग्ने बेला बाँदरले वर्षेनी नास बनाउने क्रम झन बढ्न थालेको किसानले बताएका छन्।


बाँदरले नष्ट पारेको मकैको बोटसहित शुक्रबार धादिङको नीलकण्ठ नगरपालिका–९ निगालपानी आसपासका किसानले सदरमुकाम धादिङवेसीमा प्रदर्शन गरेका छन्। मकैको बोटको माला बनाएर घाँटीमा झुण्डाउँदै प्रदर्शनमा उत्रिएका किसानले कृषि मन्त्रीको राजीनामा माग गरेका छन्।

विगत वर्षदेखि नै बाँदर नियन्त्रणको लागि माग गर्नै आए पनि कुनै पनि सरकारले बेवास्था गरेको उनीहरुको भनाइ छ। वर्षेनी खेतबारीमा लगाएको अन्न र फलफूल बाँदरले नष्ट पारिदिएपछि किसान चिन्तित भएका हुन्।

‘बारीमा बाँदरले मकै भाँचेको देखेर आँसु आउँछ,’ बाँदर नियन्त्रणको माग गर्दै शुक्रबार धादिङवेसी आइपुगेकी टिकाकुमारी श्रेष्ठ भन्छिन्, ‘बारीमा जे लगाए पनि बाँदरबाट जोगाउन सकिँदैन, वर्षेनी दुःख गर्‍यो फल खान पाइएन, यो वर्ष पनि अनिकाल पर्ने भयो।’

अहिले मकैमा चमरा लाग्ने बेला भएको छ। निगालपानी आसपासका किसानले लगाएमो मकैमा बाँदरको रजाइँ छ। ‘दुःख गर्‍यो, मल हाल्यो खेती गर्‍यो, हुर्कायो। खाउँला, छाक टारौँला भन्यो वर्षेनी बाँदरले सखाप बनाउँछ,’ किसान देवीप्रसाद रिजाल भन्छन्, ‘हाम्रो समस्यालाई सरकारले ध्यान दिएन। कि बाँदर नियन्त्रण गरियोस् कि हाम्रो खानेकुराको व्यवस्थापन सरकारले गरिदियोस्।’

नीलकण्ठ नगरपालिका वडा नं ९ कै नवराज दुवाडीले बाँदर आतङ्ककै कारण कतिपय ठाँउमा खेतीयोग्य जमिननै बाँझो राख्नु परेको गुनासो गरे । बारम्बार स्थानिय प्रशासन, कृषि, वन लगाएतका निकायलाई गुर्हादा पनि सुनवाई हुन नसकेको उनको भनाइ छ । हुलमा आउने बाँदरहरुले अन्नबाली नाससँगै महिला, केटाकेटीलाई आक्रमण समते गर्ने भएकोले झन समस्या भएको कुमारी दुवाडीले बताइन्।

उनीहरु(किसान )ले  मकैको बोटकै माला लगाएर सदरमुकाम धादिङवेशीमा रहेका सरकारी कार्यालयको गेट गेटमै नारा लगाउँदै हिँडेका हुन्।