FLASH NEWS

प्रधानमन्त्री ‘प्रचण्ड’को भारत भ्रमण तालिका सार्वजनिक


नेपाल आवाज १३ जेष्ठ २०८०, शनिबार १२:०५ मा प्रकाशित २४१९ पाठक संख्या

काठमाडौं ।- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने जानकारी दिएको हो ।


पुस १० गते प्रधानमन्त्री नियुक्त भएका ‘प्रचण्ड’ पहिलोपटक विदेश भ्रमणमा निस्किन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी भ्रमणका क्रममा ४ दिन अर्थात १७ गतेदेखि २० गतेसम्म भारतमा रहनेछन् ।

भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रपति द्रोपदी मुर्मु र उपराष्ट्रपति हामिद अंसारीसँग भेटवार्ता गर्नेछन् । भारतीय समकक्षी मोदीसँग द्विदेशीय साझेदारीका विविध क्षेत्रमा छलफल गर्ने कार्यतालिका रहेको छ ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीले भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड जेठ २० मा काठमाडौँ फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।