FLASH NEWS

‘कसैको अगाडि लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो’ : पूर्वराजा ज्ञानेन्द्र शाह


नेपाल आवाज १३ जेष्ठ २०८०, शनिबार १६:२९ मा प्रकाशित ५०८३ पाठक संख्या

वीरेन्द्रनगर- पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको व्यवस्थामा कुरा धेरै र काम कम भएको बताएका छन्। शनिबार सुर्खेतको वीरेन्द्रनगर घण्टाघर अगाडि भएको नागरिक अभिनन्दनलाई सम्बोधन गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन्।


विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर सुशासन र विकास हुनुपर्नेमा अहिलेको व्यवस्थामा जनताले चाहेजस्तो सार्थक नभएको उनको भनाइ थियो।

‘विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर सुशासन र विकास नै हो,’ पूर्वराजा शाहले भनेका छन्, ‘तर, दुई दशक लामो समय हामीले गुमाएर अभ्यास गर्दै आएको विधि व्यवस्था, शासन प्रशासन, के त्यस प्रकारले सही र सार्थक भएको छ र? हामी जहाँ जहाँ जान्छौँ, जे जे सुन्छौँ र जस्तो जस्तो देख्छौँ, त्यसबाट थाहा पाउँछौँ– आज कुरा धेरै काम थोरै भएको छ। देश दर्शनको क्रममा जनदृष्टिका आधारमा हामीले बुझेको कुरा यही हो।’

जनताले खोजेको र सोचेकोजस्तो नहुँदा त्यस्तो पद्धति केही समय विकाउ भए पनि टिकाउ नहुने पूर्वराजा शाहले बताए। उनले भने,’जनताले रोजेको, जनताले खोजेको र जनताले सोचेकोअनुसार जब हुँदैन, तब त्यस्तो पद्धति केही समयको विकाउ मात्र हुन्छ , टिकाउको हुँदैन।’

अरुको अगाडि लम्पसार भएर बाँच्नु नेपालीको अपमान भएको उनको भनाइ छ। उनले भनेका छन्,’हामीलाई हाम्रै माटो मलिलो लाग्छ, हामीलाई हाम्रै भेषभूषा सुकिलो लाग्छ।

अनि हामीलाई हाम्रो आफ्नै धर्म, कर्म, रीति थिति, संस्कृति र परम्परा प्रिय लाग्छ। आफ्नो पहिचान – हाम्रो शान हो– आफ्नो मौलिकता र मौलिक सभ्यता हाम्रो स्वाभिमान हो, त्यसैले कसैको अगाडि लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो। हामी जहाँ–जहाँ पुग्छौँ, त्यहाँ–त्यहाँ नेपालीहरुको यस्तै–यस्तै आवाज सुन्छौँ।’

उनले आफ्नो गौरव र गरिमा फिर्ता ल्याउन सोच्नुपर्ने बेला आएको बताए। ‘अब कसरी जाने , के कस्तो विधि व्यवस्था अंगाल्ने र हाम्रो गौरव गरिमालाई पुनः ताजा रुपमा ल्याउने भन्ने कुरामा सोच्नै पर्ने बेला आएको छ। अब सोचौं के गर्दा देशको राम्रो हुन्छ– अब सोचौं के नगर्दा देशलाई फाइदा हुन्छ। राष्ट्रवाद फष्टाउनलाई राष्ट्रप्रेमको खाँचो चाहिन्छ। नेपालको पीरमर्का बुझ्न नेपाली मुटुले मात्र सकिन्छ,’ उनले भनेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुर्खेतको वीरेन्द्रनगर आएर त्यहाँका जनताको न्यानो आत्मियता पाउँदा मलाई धेरै खुशी लागेको भन्दै यो सुखद क्षणमा जनताहरुलेले दर्शाएको स्वागत र सद्भावप्रति आफू कृतज्ञता रहेको पनि बताए ।

कार्यक्रममा पूर्वराजा शाहसहित पूर्वमहारानी कोमल, पूर्वयुवराज्ञी हिमानी शाह लगायत राजपरिवारका अन्य सदस्य पनि सहभागी रहेको थियो । कार्यक्रममा पूर्व राजा रानीलाई दैलेख पञ्चकोशीको जलपान गराएर नागरिक अभिनन्दन गरिएको थियो ।

यसअघिका नागरिक अभिनन्दन समारोहलाई पनि सम्बोधन गर्दै शाहले जनताको जीवनस्तर सुधार हुन नसकेको र मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन सबैमा आहृवान गर्दै आएका छन् । लामो अवधिसम्म पनि मुलुकको अवस्था नफेरिएको भन्दै उनको दुखेसो छ ।

पूर्वराजा शाहको सम्बोधनको पूर्णपाठः

उपस्थित महिला तथा सज्जनवृन्द,

वीरेन्द्रनगर आएर तपाईंहरुको न्यानो आत्मियता पाउँदा मलाई धेरै खुशी लागेको छ। यो सुखद् क्षणमा तपाईंहरुले दर्शाउनु भएको स्वागत् र सद्भावप्रति म कृतज्ञता व्यक्त गर्दछु।

प्राचीन कालमा एक विशाल तालका रुपमा रहेको यो सुर्खेत सुरदेवताको करुणाले पछि उर्वर खेत बनेको भनाइ रहेको छ। दैलेख, जारजरकोट, बाँके, बर्दिया, सल्यान, दाङ , डोटी अछाम र कैलाली गरी नौ जिल्लासँग जोडिएको र केन्द्रभागमा रहेको एक सुन्दर उपत्यका अहिले आधुनिक वीरेन्द्रनगर बनेको छ।

आजभन्दा पचास वर्षअघि नेपालको विकास प्रक्रियामा सन्तुलन ल्याउन पाँच विकास क्षेत्रको राष्ट्रिय दृष्टिकोण आदरणीय दाजु श्री ५ वीरेन्द्रले अघि सारिबक्सेको हो। धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिपायललाई केन्द्रविन्दू बनाएर सबै क्षेत्रको समानुपातिक विकासको अवधारणा परिकल्पना गरिबक्सेको थियो।

कर्णाली राजमार्ग, रत्न राजमार्ग, काँक्री बिहार, बुलबुले ताल, कोठीकाँडा, लाटीकोइली, बयलकाँडा, सिद्धपाइला र वीरेन्द्रनगर शहरी संरचनालाई त्यही क्षेत्रीय विकासको अवधारणा बमोजिम नै अधि आएका हुन्। क्षेत्रीय भ्रमण गरी सञ्चालित विकास कार्यको अनुगमन, निरीक्षण र सुधार गर्दै जाने काम पनि हुँदै आएको हो।

२०३० को दशकदेखि नै शुरु भएका त्यस्ता सुखद् सपनालाई दैलेख, कालिकोट, जुम्ला, मुगु, हुम्ला सम्म फैलाउँदै ,फुलाउँदै जानु आवश्यक छ। देशको भलो चिताएर जनताको हितमा काम गर्नु नै सबैको राष्ट्रिय दायित्व हो।

यो दायित्वमा निरन्तर संगठित र व्यवस्थित भएर लाग्नु नै प्रजातान्त्रिक पद्धति हो। लोकतन्त्र, जनतन्त्र, गणतन्त्र, समाजवाद, जनवाद, विज्ञानवाद, वैज्ञानिकवाद, भौतिकवाद आदि जे–जे शब्द भने पनि मूल कुरा देश, जनता, समाज, समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान नै हो। विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर सुशासन र विकास नै हो।

तर दुई दशक लामो समय हामीले गुमाएर अभ्यास गर्दै आएको विधि व्यवस्था, शासन प्रशासन, के त्यस प्रकारले सही र सार्थक भएको छ र? हामी जहाँ जहाँ जान्छौँ – जे जे सुन्छौँ र जस्तो जस्तो देख्छौँ – त्यसबाट थाहा पाउँछौँ – आज कुरा धेरै काम थोरै भएको छ। देश दर्शनको क्रममा जनदृष्टिका आधारमा हामीले बुझेको कुरा यही हो। नेपाल र नेपालीको सही हित चाहने हाम्रा मित्रहरुले पनि यस्ता कुरा गहिरिएर सोचिरहेका छन्। जनताले रोजेको, जनताले खोजेको र जनताले सोचेकोअनुसार जब हुँदैन तब त्यस्तो पद्धति केही समयको विकाउ मात्र हुन्छ , टिकाउको हुँदैन। हामीलाई हाम्रै माटो मलिलो लाग्छ, हामीलाई हाम्रै भेषभूषा सुकिलो लाग्छ।

अनि हामीलाई हाम्रो आफ्नै धर्म, कर्म, रीति थिति, संस्कृति र परम्परा प्रिय लाग्छ। आफ्नो पहिचान – हाम्रो शान हो – आफ्नो मौलिकता र मौलिक सभ्यता हाम्रो स्वाभिमान हो त्यसैले कसैको अगाडी लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो। हामी जहाँ जहाँ पुग्छौँ – त्यहाँ त्यहाँ नेपालीहरुको यस्तै यस्तै आवाज सुन्छौँ।

त्यसैले अब कसरी जाने , के कस्तो विधि व्यवस्था अँगाल्ने र हाम्रो गौरव गरिमालाई पुनः ताजा रुपमा ल्याउने भन्ने कुरामा सोच्नैपर्ने वेला आएको छ। अब सोचौँ के गर्दा देशको राम्रो हुन्छ– अब सोचौँ के नगर्दा देशलाई फाइदा हुन्छ। राष्ट्रवाद फष्टाउनलाई राष्ट्रप्रेमको खाँचो चाहिन्छ। नेपालको पीरमर्का बुझ्न नेपाली मुटुले मात्र सकिन्छ।

अब हामी भन्दछौँ– मिलऔँ, हामी सबै मिलऔँ, त्यसैले हामी भन्दछौँ– जुटौँ, हामी सबै एक भएर जुटौँ, त्यसैले हामी भन्दछौँ– हामी नफुटौँ र परस्परमा सहकार्य गरेर विकासका निम्ति डटौँ। त्यसैले फेरी पनि भन्छौँ– जुटौँ, खटौँ र डटौँ, स्वधर्मबाट हटेर होइन त्यसमै एकजुट भएर राष्ट्रका निम्ति एक साथ अघि बढौँ।

सबैमा फेरि एक पटक हाम्रो धन्यवाद
जय नेपाल
वीरेन्द्रनगर मिति २०८० साल ज्येष्ठ १३ गते