FLASH NEWS

‘मुलुकमा देखिएका समस्या समाधानका लागि दलहरूबीच एकताको खाँचो’: प्रधानमन्त्री


नेपाल आवाज १३ जेष्ठ २०८०, शनिबार १९:२९ मा प्रकाशित १२६१ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखिएका समस्या समाधानका लागि दलहरूबीच एकताको खाँचो रहेको बताएका छन् ।


प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले राष्ट्रिय समस्या समाधानका लागि राष्ट्रिय सहमति हुनुपर्ने बताएका हुन् । देशमा गम्भीर समस्या पैदा हुँदा राजनीतिक दलहरू नै सहमति सहकार्य र एकताको माध्यमबाट त्यसको सामना गरेको उनले जिकिर गरे ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले पहिलो गठबन्धनबाट दोस्रो गठबन्धनसम्म आइपुग्दा केही तितामिठा कुरा भए पनि अहिले दलहरूबीच साझा समझदारी आवश्यक रहेको जिकिर गरे ।

उनले पहिलाको सरकार र अहिलेको सरकारले ल्याएको नीति कार्यक्रममा कुनै फरक नभएको र यो एक हदसम्म कर्मकाण्डी नै रहेको बताए । यद्यपि यसपटकको कार्यक्रममा केही नयाँ मौलिकपन समावेश गर्न खोजिएको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा अपराधी नछुट्ने र निर्दोष नफस्ने गरि अनुसन्धान गर्न निर्देशन दिएको र अब अदालतले गर्ने फैसला स्वीकार्य हुने बताए ।​ उनले सम्पत्ति शुद्धीकरण, राजस्व लगायत बेथिति रहेका क्षेत्रलाई क्रमशः सुधार गर्दै लाने र यसका लागि सदनको साथ आवश्यक रहेको बताए । उनले आफ्नो तेस्रो कार्यकाल अन्तिम हुन सक्ने भन्दै यसलाई चुनौतीपूर्ण र अवसरपूर्ण ठानेको उल्लेख गरे ।