FLASH NEWS

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस


नेपाल आवाज १४ जेष्ठ २०८०, आईतवार १३:४० मा प्रकाशित १५७९ पाठक संख्या

काठमाडौं – सरकारले हाल जेल जिवन विताइरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफरिस गरेको छ ।


आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले यसबारे पत्रकार सम्मेलन आयाजना गर्दै चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

सरकारका प्रवक्ता शर्माले टिकापुर घटनाका प्रमुख दोषी रेशम चौधरीलगायतलाई कानुनसम्मत माफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको प्रष्टीकरण दिएका हुन् ।

‘रेशम चौधरीबारे बाहिर आएका विषयलाई सरकारले गम्भीरता रुपमा लिएको छ । हालै सर्वोच्च अदालतको जुन फैसला आएको छ, त्यसले उच्च अदालतको फैसलालाई सदर गरिसकेको छ। यसमा सर्वोच्चले थप निर्णय पनि गरेको छैन’, उनले भने, ‘कानुनविदहरुसँगको राय सल्लाहमै यो निर्णय भएको हो। कानुनविदहरुको राय फरक फरक हुने नै भयो। तर हामीले अहिले कानुनभन्दा बाहिरबाट गएर निर्णय गरेका छैनौँ।’

सोमबार परेको गणतन्त्र दिवसका अवसरमा चौधरीलाई छाड्ने सरकारको योजना छ । यस्तै बैठकले हाल बन्दी जीवन विताइरहेका विभिन्न व्यक्तिहरुलाई पनि आममाफी र कैद मिनाहा हुनेगरी सिफारिस गरेको छ ।

यसअघि जेठ १२ मा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको आममाफी सम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएका थिए । चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले मन्त्रालयमा फाइल फिर्ता गरेको थियो ।

सोही फाइल गृहले मन्त्रिपरिषद्मा पठाएकामा आज फेरि राष्ट्रपति समक्ष नै सिफारिस भएको हो ।