FLASH NEWS

प्रधानमन्त्री दाहालसँग भेट गर्न बालुवाटार पुगे रेशम चौधरी


नेपाल आवाज १५ जेष्ठ २०८०, सोमबार १०:२३ मा प्रकाशित १८४९ पाठक संख्या

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन्।


सोमबार बिहान डिल्लीबजार जेलबाट रिहा भएका रेशम उनकी श्रीमती एवम् भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री  रञ्जिता श्रेष्ठसँग बालुवाटार पुगेका हुन्।

जेलबाट रिहा भएपछि उनी मन्त्री क्वाटर पुगेका थिए।  क्वाटरबाट प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट रेशमले आममाफी पाएका हुन्।

टीकापुर हत्याकाण्डमा तीनै अदालतबाट दोषी ठहर भई चौधरीले जेल जीवन बिताइरहेका थिए।

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेलले ५०१ जनालाई आममाफी दिएका छन्।

चौधरीलाई स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ताहरू सोमबार बिहान डिल्लीबजार कारागार पुगेका थिए।

चौधरीले आजै गृहजिल्ला कैलाली जाने बताएका छन् । त्यहाँ गएर कार्यकर्तालाई सम्बोधन गर्ने र टिकापुर काण्डमा दोषी ठहर भई जेलमा रहेकाहरुलाई भेट्ने कार्यक्रम छ ।

चौधरीले टीकापुर घटनाको विस्तृत छानबिन हुनुपर्ने बताएका छन्। उनले टीकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिन हुनु पर्ने जनाएका छन् ।