FLASH NEWS

आज भारत भ्रमणमा जाँदै प्रधानमन्त्री


नेपाल आवाज १७ जेष्ठ २०८०, बुधबार ०९:२७ मा प्रकाशित १६६९ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रचण्ड आज भारत जान लागेका हुन् ।


उनी दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाजमार्फत भारत प्रस्थान गर्ने तालिका तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो ।

भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउदसहित ४७ जनाको प्रतिनिधिमण्डल रहनेछ ।

परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार जेठ १८ गते प्रधानमन्त्री दाहाल र उहाँका भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा उच्चस्तरीय भेटवार्ता हुनेछ । दुई देशका प्रधानमन्त्रीको भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने कार्यतालिका तय भएको छ ।

हैदरावाद हाउसमा नै केही सहमतिपत्र र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्नुहुने छ । उनले नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले संयुक्तरूपमा आयोजना गर्ने एक अन्तक्र्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्ने र व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत तय भएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नुहुने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले भारतको मध्यप्रदेशस्थित उज्जैन र इन्दोरको समेत भ्रमण गर्ने कार्यसूची छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल यही जेठ २० गते साँझ स्वदेश फर्कने कार्यसूची छ ।

प्रधानमन्त्रीका रूपमा दाहालको यो चौथो भारत भ्रमण हो ।  यसअघि विसं २०६५ मा पहिलोपटक र  दोस्रोपटक २०७३ सालमा प्रधानमन्त्री भएपछि उनले भारतको भ्रमण गरेका थिए । त्यस्तै ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीका रूपमा दाहालले भारतको भ्रमण गरेका थिए । प्रधानमन्त्रीले भ्रमणको तयारीका क्रममा पूर्वप्रधानमन्त्री, परराष्ट्रमन्त्री, कूटनीतिक तथा सरोकारवालासँग छलफल गरेर राष्ट्रिय सहमति बनाउने प्रयास गरेका छन् । प्रतिनिधिसभामा समेत भ्रमणका बारेमा जानकारी गराएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले भ्रमणका क्रममा पारवहन सन्धि नवीकरण र दुई देशबीच थप पेट्रोलियम पाइप लाइन विस्तारका विषयमा सहमति हुने जानकारी दिए ।

यस्तै सिलीगुडी चारआली पाइप लाइन र टर्मिनल ट्याङ्क निर्माण, अमलेखगञ्ज लोथरसम्मको पाइप लाइन र स्टोरेज टर्मिनल ट्याङ्क निर्माणका बारेमा सहमति हुनेछ । भैरहवामा एकीकृत भन्सार चौकीको शिलान्यास गर्ने  र नेपालगन्जमा एकीकृत भन्सार चौकीको दुवै देशका प्रधनमन्त्रीले संयुक्तरूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको मन्त्री रिजालले जानकारी दिए । कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण, जुट निर्यातमा लगाइएको एन्टिडम्पिङलगायत विषय र नेचुरल ग्यास ल्याएर नेपालमा रासायनिक मल कारखाना राख्ने विषयमा पनि कुरा हुने उनले जानकारी दिए ।