FLASH NEWS

सुनकोशीमा जीप खस्दा तीन बेपत्ता


नेपाल आवाज १९ जेष्ठ २०८०, शुक्रबार १६:१३ मा प्रकाशित ३५४७ पाठक संख्या

सिन्धुली – मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट स्कार्पियो जीप सुनकोशी नदीमा खसेको छ । आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् ।


जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का कर्मचारी सवार बिएबी ७४६७ नम्बरको स्कार्पियो जीप काठमाडौंबाट खोटाङतर्फ जाँदै गर्दा गोलञ्जोर–७ लौकुन नभघाटबाट नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार स्कोर्पियोमा चार जना सवार रहेकोमा चालक दाङ राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली बाहिर निस्कन सफल भएका थिए भने बाँकी तीन जना अझै बेपत्ता छन् ।

बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका–९ घर भइ सिटिइभिटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, पूर्वीनवलपरासी प्रगति नगरपालिका–७ का घर भइ हाल योजना महाशाखाका निर्देशक यमप्रसाद घुर्तेल र इलाम फुयतया नगरपालिका–५ घर भइ हाल विद्युत् प्रशिक्षकका रुपमा कार्यरत भानु पौडेल छन् ।

स्कार्पियो अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । बेपत्ताहरूको खोजी भइरहेको नायब उपरीक्षक दाहालले जानकारी दिए ।