FLASH NEWS

सरुवा र बढुवाका लागि नाजायज लाभ लिने र दिनेलाई जेल हाल्छु : गृहमन्त्री श्रेष्ठ


नेपाल आवाज २० जेष्ठ २०८०, शनिबार १६:२३ मा प्रकाशित १०६९ पाठक संख्या

काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रशासन र अन्य क्षेत्रमा हुने सरुवा र बढुवाका लागि अनुचित लाभ लिने र दिने दुवैलाई कारबाही गर्ने बताएका छन् । उनले त्यस्ता कार्यका लागि कसैलाई पनि लेनदेन नगर्न चेतावनी दिएका छन् ।


शनिवार काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पछिल्लो समय प्रहरी प्रशासनमा सरुवा र बढुवामा हुने लेनदेन बन्द भएको उनको दाबी थियो । उनले त्यसो गर्नेहरूलाई कारबाही हुने बताए ।

‘सरुवा र बढुवाका लागि माथि लिने काम बन्द भयो । मन्त्रालयको कसैले लिएको थियो भने बन्द भयो । विचौलियाले पनि पैसा लिन्छन् भन्ने सुन्दैछु,’ उनले चेतावनी दिए, ‘खबरदार ! कोही कसैले बढुवा र सरुवाको निम्ति नाजायज लाभ लिएको छ भने दिनेलाई पनि जेल हाल्छु, लिनेलाई पनि जेल हाल्छु ।’

मुलुक यसरी नचल्ने श्रेष्ठको भनाइ थियो । उनले जनतालाई यसरी नै शासन दिने हो भने सही नहुने भनाइ राखे । आफूलाई निष्पक्ष राख्न खोज्दा विभिन्न अप्ठ्यारा आउने गरेको पनि श्रेष्ठले सुनाए । रोजगारीका लागि परीक्षा दिनेहरूले सम्बन्धित निकायमा भनिदिनपर्‍यो भनेर दिनदिनै भन्ने गरेको पनि श्रेष्ठले सुनाए । ‘त्रिविमा प्राध्यापकको लागि परीक्षा दिएर आउनुहुन्छ । सेवा आयोगमा भनिदिनुपर्‍यो भन्नुहुन्छ । शिक्षक सेवा आयोग र लोकसेवा आयोगमा पनि त्यही भन्नुहुन्छ, भन्दिनपरो भन्नुहुन्छ,’ उनले भने, ‘त्यसो त हुन्न भन्दा तपाईंले नेपालमा राजनीति गरेर खानुहुन्न, फेरि चुनाव हार्नुहुन्छ भन्नुहुन्छ । १०० पटक चुनाव हार्न तयार छु तर लोकतान्त्रिक र निष्पक्ष मूल्यमान्यता छोड्दिनँ ।’

गृहमन्त्री श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताए । उनले नक्कली भूटानी शरणार्थी प्रकरणबारे अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा गरी दोषीमाथि कारबाही हुने बताए । उनले भने– ‘तपाईहरुले अहिले भर्खरै देख्नुभएको छ, आफ्नै देशका नागरिकलाई अनागरिक बनाइ, अर्काको देशको शरणार्थी बनाइ सम्पति आर्जन गर्नका लागि अर्को देशमा शरणार्थी बनाएर पठाउने जुन योजना थियो, त्यो योजना अनुसन्धान, स्वतन्त्र, निष्पक्ष रुपमा गरेर दोषीमाथि कारबाही हुनुपर्छ भनेर गृह मन्त्रालय र नेपाल प्रहरीले न्यायालयमा पेस गर्ने प्रक्रिया भएको छ । हामी आशा गर्छौं, पीडितलाई न्याय दिने, हाम्रो अनुसन्धान खेर जाने छैन ।’

उनले आफू राम्रो काम गरेँ भनेर विश्राम गरेर नबस्ने बताए । उपप्रधानमन्त्री श्रेष्ठले सुशासनको बाधकका रुपमा जुनसुकै पार्टीको नेता पनि भ्रष्टाचार र अनियमिततामा फेला परे कारबाही गर्न पछि नहट्ने बताए । श्रेष्ठले आफ्नै पार्टी नेकपा (माओवादी केन्द्र)का नेताहरु पनि भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने कारबाही गर्न पछि नहट्ने र त्यो बेला आश्चर्यमा पर्न आवश्यक नरहेको बताए ।

सरकारले भ्रष्टाचार नियन्त्रणका लागि दृढ कदम चालिरहेको र कुन पार्टीका नेता पर्छन् भन्ने वास्ता नगरेको बताए ।

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गरी एकताबद्ध भएर जानुपर्नेमा उनले जोड दिए । ‘भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहितको सुशासन नगरिकन समृद्ध देश बनाउने कोरा नारा हो,’ उनले भने । समृद्ध देश नबनाइकन आमजनतालाई परिवर्तनको उपलब्धि दिन नसकेको उनको भनाइ थियो ।

सरकारले एकसुत्रीय रूपमा सुशासन, समृद्धि र सामाजिक न्यायका लागि काम गरिरहेको श्रेष्ठले बताए । त्यसबाट सरकार कुनै पनि हालतमा विचलित नहुने धारणा राखे ।