FLASH NEWS

नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्तविरुद्ध थुनछेक बहस सुरु


नेपाल आवाज २१ जेष्ठ २०८०, आईतवार १२:३१ मा प्रकाशित १८४९ पाठक संख्या

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तविरुद्ध थुनछेक बहस सुरु भएको छ ।


शुक्रबार सबै अभियुक्तको अदालती बयान सकिएसँगै आजबाट जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सुरू भएको हो ।

थुनछेक बहसको इजलासमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वसांसद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मिया, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, सानु भण्डारी, रामशरण केसी र गोविन्द चौधरीलाई उपस्थित गराइएको हो ।

उनीहरुसँगै इन्द्रजित राई, नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, टंक गुरुङ, केशव दुलाल, सागर राई, लक्ष्मी महर्जन र हरिभक्त महर्जन पनि अहिले इजलासमा छन् । उनीहरू सबैलाई काठमाडौंकै विभिन्न प्रहरी कार्यालयका हिरासतमा राखिएका छन्।

थुनछेक बहसपछि उनीहरूलाई पुर्पपक्षका लागि जेल चलान गर्ने वा कारागार बाहिरै राखेर मुद्दा अघि बढाउने भन्ने विषयमा निर्णय हुनेछ । पहिलो दिन आज अभियोग दायर गर्ने सरकारी वकिलले बहस गर्ने छन् ।

सरकारी वकिलहरू महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्ने सरकारी वकिल कार्यालयले जनाएको छ । सरकारी वकिल र पीडितका तर्फबाट बहस सकिएपछि मात्रै प्रतिवादीको पालो आउनेछ।