FLASH NEWS

पाल्पा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्याे, १० घाइतेको उपचार हुँदै


नेपाल आवाज २२ जेष्ठ २०८०, सोमबार ०९:०२ मा प्रकाशित १७५३ पाठक संख्या

पाल्पा- पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । १० जना घाइतेको रुपन्देहीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


दुर्घटनामा परी मृत्यु हुने सबै अर्घाखाँचीका हुन् । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१, की ५५ वर्षीया श्यामकला परियार, पाणिनीकै चालक २६ वर्षीय रमेश विक, पाणिनी २ पोखराथोककी २५ वर्षीया सीता गौतम, पोखराथोककी दुई वर्षीय संयोग गौतम र पणेनाका ३७ वर्षीय विजय पोखरेल (कृष्णप्रसाद) रहेको जिल्ला प्रहरी प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

परियार, विक र गौतमको घटनास्थलमा साथै दुई वर्षीय संयोग र पोखरेलको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । सीता र संयोग आमा छोरा हुन् । घाइतेमध्ये ५ जनाको अवस्था अझै सख्त रहेको प्रहरीले जनाएको छ । जसमा चार जनाको भैरहवास्थित मेडिकल कलेज र एक जनाको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

थप पाँच जना घाइतेको भने लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार जारी छ । घाइतेमध्ये अधिकांश बालबालिका रहेका छन् । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पाणिनीको पणेनातर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको जिप ढोरपाटन सडकको केवँरेछेडामा दुर्घटनामा भएको हो । दुर्घटनाग्रस्त जीप सडकदेखि ७० मिटर तल खसेको छ ।

दुर्घटनापछि अर्घाखाँचीको पाणिनी र पोखराथोक गाउँ शोकमग्न भएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाको कमाण्डमा घटनास्थलमा खटिएको छ ।

दुर्घटनाग्रस्त जीप उकालेमा ब्याक भएको स्थानीयले बताए । जिपमा पछाडि सामान र यात्रुसमेत अधिक राखेको थियो । रातो प्लेटको डबल क्याब जीपको ५ जनाको मात्र हुन्छ । जिल्ला ट्राफिक प्रहरीले कार्यालय प्रमुख दामोदर मल्लले ५ जनाको बीमाले खर्च बेहोर्ने र थपको उपचार खर्च सवारी धनीले बेहोर्नुपर्ने हुन्छ ।