आज: | Tue, 19, Mar, 2024
FLASH NEWS

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर सिंगापुर प्रस्थान


नेपाल आवाज २२ जेष्ठ २०८०, सोमबार २०:४५ मा प्रकाशित १४५९ पाठक संख्या

काठमाडौं – नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) काठमाडौं नेपालका प्रमुख प्रहरी महानिरीक्षक(आइजिपी) बसन्तबहादुर कुँवर सिंगापुर प्रस्थान गरेका छन्।

इन्टरपोल महासचिवालयको आयोजनामा सिंगापुरमा संचालन हुने हेड अफ एनसिबी कन्फ्रेन्समा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

कुँवरलाई एआइजी, डिआइजी लगायत वरिष्ठ अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामनासहित बिदाइ दिएको नेपाल प्रहरीले जनाएको छ।

सन् १९२३ मा स्थापना भएको इन्टरपोलको शताब्दी वर्ष मनाउने क्रममा इन्टरपोलको १००औं सदस्य नेपालको तर्फबाट गत जेठ २ गते मंगलबार बिहान १०:१५ बजे नेपाल प्रहरीका प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले सगरमाथा आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी र इन्टरपोलको झण्डा फहराएका थिए।

इन्टरपोलको उक्त झण्डा आइजिपी कुँवरले कन्फ्रेन्सको दौरानमा इन्टरपोलका प्रेसिडेन्ट अह्मद नसेर अल-राइसीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ।

हेड अफ एनसिबी कन्फ्रेन्समा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९५ सदस्य राष्ट्रहरूका एनसिबी प्रमुखहरू तथा इन्टरपोल महासचिवबीच एकैसाथ समन्वय एवम् सहकार्यको विषयहरूमा छलफल हुने गर्छ।

कन्फ्रेन्समा इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूले आ-आफ्ना देशका प्राथमिकताहरू, उत्कृष्ट अभ्यासहरू आदान प्रदान गर्नेछन्।

इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूको हरेक वर्ष हुने हेड अफ एनसिबी कन्फ्रेन्स यस वर्ष जुन ७ देखि ९ तारिकसम्म सिंगापुरमा हुनेछ।