आज: | Tue, 19, Mar, 2024
FLASH NEWS

प्रधानमन्त्रीद्धारा डा. सञ्जुप्रति श्रद्धाञ्जली अर्पण


नेपाल आवाज २३ जेष्ठ २०८०, मंगलवार १२:०० मा प्रकाशित १०६३ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार दुर्घटनामा ज्यान गुमाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काका भाइबुहारी डा. सञ्जु खाती खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड आध्यात्मिक सम्मेलन उद्घाटनका लागि सुर्खेत पुगेका प्रधानमन्त्री प्रचण्डले मंगलबार बिहान सुर्खेत पुगेर खड्काप्रति श्रद्धाञ्जली र उनका परिवारप्रति समवेदना प्रकट गरेका हुन् ।

प्रचण्डका साथमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि सहभागी छन् ।

खप्तडमा आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलन हुँदैछ । सो सम्मेलनमा विश्व प्रसिद्ध योग गोरु रामदेव,पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आएका महायोगी जगत्गुरु शिद्धबाबा कृष्णदास महाराजलगायतको उपस्थिति रहने छ ।

सम्मेलनको पहिलो दिन बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योगा गराउने कार्यक्रम रहेको छ भने

सो सम्मेलनमा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकीहरू भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायतका प्रस्तुत गरिनेछ ।

डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाले घेरिएको खप्तड क्षेत्र धार्मिक तथा बहुमूल्य जडीबुटीका लागि प्रख्यात छ । २२ पाटन, २५ मैदान र ५२ वटा थुम्काले भरिपूर्ण एवं जैविक विविधताको फूलबारी खप्तडमा सयौँ प्रजाति चरा, ३७२ प्रजातिका वनस्पति र १३० थरीका जडीबुटी पाइन्छन् ।