FLASH NEWS

खप्तडलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउने प्रचण्डको आश्वासन


नेपाल आवाज २३ जेष्ठ २०८०, मंगलवार १६:३५ मा प्रकाशित १६८७ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउने आश्वासन दिएका छन् । आजदेखि सुरु भएको तीन दिने प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो बाचा गरेका हुन् ।


उनले भने, ‘खप्तड आर्थिक विकासको केन्द्र र पर्यटन विकासको केन्द्र बन्छ । खप्तड क्षेत्रलाई पर्यटन मैत्री आध्यात्मिक केन्द्रको रूपमा विकास गर्छौ ।’

उनले खप्तड विकास कोष वा प्रतिष्ठान  बनाउने विषयमा पनि छलफल गर्ने बताए  । खप्तडको विकासका लागि लगानी बोर्डले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समेत तयार गरिसकेको उनले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशको विकासको लागि आफू प्रतिबद्ध रहेको समेत उनको भनाइ थियो । उनले प्रकृतिले दिएको स्वर्गको सही सदुपयोग गरी समृद्धि हासिल गर्ने परियोजना निर्माणका लागि सम्बन्धित सबै पक्षसँग सहकार्य गर्ने बताए।

उनले भने, ‘यसपटक सुदूरपश्चिमको विकास र समृद्धिका लागि मैले ध्यान केन्द्रित गरेको छु। चाहे त्यो विश्वविद्यालय निर्माण होस् या भारत भ्रमणका क्रममा गरिएका समझदारी। यो क्षेत्रलाई विकासमा अग्रणी नगरेसम्म समग्र देशको विकास हुन सक्दैन। नयाँ संरचनासहित खप्तडको विकासका लागि सरकार प्रतिबद्ध छ। खप्तड धार्मिक र पर्यटकीय दृष्टिकोणले सुदूरपश्चिमको केन्द्र हो । यसलाई आर्थिक केन्द्र बनाउन सकिन्छ।’

यसैबीच आध्यात्मिक केन्द्र निर्माणका लागि लगानी गर्न योग गुरु रामदेव र आचार्य बालकृष्ण पनि इच्छुक रहेको बताइएको छ।

गुरु रामदेवले आफू निःशुल्क खप्तडको ब्रान्ड एम्बेस्डर बन्न चाहेको बताए। उनले भने, ‘निःशुल्क खप्तडको ब्रान्ड एम्बेस्डर बन्छु, तपाईंले गरेका हरेक काममा मेरो सहयोग हुन्छ।’

योगगुरु रामदेवले खप्तड अलौकिक क्षेत्र भएको बताए। ‘खप्तड एउटा आध्यात्मिक क्षेत्रका लागि प्रकृतिले दिएको गहना जस्तै हो। अब यसको संसारभर आध्यात्मिक पर्यटनको रूपमा प्रचार हुनेछ,’ उनले भने, ‘भू–स्वर्ग भनेकै खप्तड भएको हुँदा जिवित हुँदा नै सबैले खप्तड पुग्नुपर्छ।’

यस्तै, सम्मेलनमा भाग लिन रामदेवसँगै आएका आचार्य बालकृष्णले जीवनमा एकपटक खप्तड हेर्न जानुपर्ने बताए।

प्रधानमन्त्रीसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, एमाले नेता भीम रावल,सांसद, प्रदेशसभा सदस्य, विभिन्न देशका राजदूत,आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तिलगायतको उपस्थिति छ। सम्मेलन तीन दिनसम्म चल्नेछ।

सुदूरपश्चिम प्रदेश सरकार तथा खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनमा तथा नेपाल पर्यटन बोर्ड, स्थानीय तहहरूको समन्वयमा सम्मेलन आयोजना गरिएको हो।

खप्तड बाबाले ५० वर्ष साधना गरेको खप्तडलाई पर्यटकीय हिसाबले ‘भर्जिन’ क्षेत्र मानिन्छ। आध्यात्मिक सम्मेलनपछि खप्तडमा भारतीय र तेस्रो मुलुकका पर्यटक बढ्ने खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक तथा मूल समारोह समितिका सदस्यसचिव भीमबहादुर खड्काले बताए।

त्रिवेणीधाम, केदारढुंगा, नागढुंगा, खप्तड दह, खप्तड आश्रम, सहस्रलिंग, खप्तड बाबाको कुटी जस्ता पवित्र धार्मिक सम्पदाले यहाँको धार्मिक गरिमालाई थप उचाइ दिएको छ। सो  क्षेत्रमा विभिन्न २२ पाटन, ५३ झोती (टापु) लगायतका आकर्षक संरचना छन्।

खप्तड राष्ट्रिय निकुञ्जसमेत रहेको सो क्षेत्र समुद्री सतहबाट तीन हजार दुई सय मिटरको उचाइमा झन्डै दुई सय २५ वर्गकिलोमिटरमा फैलिएको छ। खप्तडमा अहिलेसम्म सडक मार्ग भने पुग्न सकेको छैन। विविधताको फूलबारी खप्तड सयौँ प्रजातिका चरा, तीन सय ७२ प्रजातिका वनस्पति र एक सय ३० थरीका जडिबुटीले भरिपूर्ण छ।

डोटीको झिग्रानासम्म यातायातको व्यवस्था भए पनि त्यहाँबाट करिब ४ घण्टाको पैदल यात्रापछि मात्र खप्तड पुगिन्छ।