FLASH NEWS

‘अखण्ड भारत’ नक्साबारे भारतीय पक्षसँग गम्भीरतापूर्वक कुरा उठाएको छु : प्रधानमन्त्री दाहाल


नेपाल आवाज २४ जेष्ठ २०८०, बुधबार १३:५५ मा प्रकाशित १५३१ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको नयाँ संसद भवनमा नेपालको भूमिसमेत सामेल गरिएको नक्साबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो नभएको बताएका छन्।


बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो विषयमा आफूले भारतीय पक्षसँग गम्भीरतापूर्वक कुरा उठाएको स्पष्टीकरण दिएका हुन्।

प्रधानमन्त्री दाहालले मिडियामा सोबारे आएको विषयमा आफूले भारतीय पक्षसँग कुरा राखेको र भारतीय पक्षबाट यो कुनै राजनीतिक नक्सा नभएकाले त्यसलाई राजनीतिक रूपमा नहेर्न भनेको जवाफ आएको पनि बताए।

उनले सो विषयमा भारतसँग अझ बढी अध्ययन र छलफल गर्ने आश्वासनसमेत दिए। प्रधानमन्त्री दाहालले भने, ‘पहिलो कुरा संसदको नक्साबारे कुरा भयो। मैले गम्भीर रूपमा नै उठाएँ। किनकि त्यो धेरे अध्ययन भइसकेको त थिएन। तर पनि जसरी मिडियामा आएको थियो, त्यो विषयमा त्यसरी नै प्रश्न गरेँ। यो के हो- नयाँ संसद भवनमा भारतले राखेको नक्साबारे विभिन्न कोणबाट चर्चा भएको छभन्दा उहाँहरूले दिएको जवाफ मैले प्रतिनिधिसभामा पनि भनेको थिएँ। यो कुनै राजनीतिक नक्सा होइन। यसलाई राजनीतिक रूपले हेर्न हुँदैन भन्ने उहाँहरूको जवाफ थियो। अब यो बारे अझ बढी अध्ययन गर्ने, छलफल गर्ने कुरा त बाँकी नै छ। त्यसकारण कुरा उठाएन, केही पनि भएन भन्ने कुरा साँचो होइन।’ उनले भारतको नयाँ संसदमा राखिएको नक्शा सांस्कृतिक नक्सा भएको कुरा पनि भारतीय पक्षले राखेको बताए।

प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच राम्रो विश्वासको वातावरण बनाएर मात्र कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद हल गर्न सकिने बताएका छन् । र, आफ्नो भारत भ्रमणले विश्वासको वातावरण बनाएको उनको दाबी छ ।

उनले भारतीय पक्षसँग भएको औपचारिक कुराकानीका क्रममा जमिन सट्टापट्टाबारे कुरा नगरेको बताए । उनले अघि भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो, यो समस्या छिटो हल गर्नुपर्छ मात्र भनेको हो ।’ भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता भएको भोलिपल्ट नेपाली पत्रकारहरुसँग कुरा गर्दा भने नेपालकै बुद्धिजिवीहरुले भनेका छन् भन्ने सन्दर्भमा मात्र बोलेको उनले बताए । सरकारले समय–समयमा गराएको अध्ययनमा पनि जटिल भयो भने सट्टापट्टा पनि गर्न सकिन्छ भनेको भेटिने उनको दाबी छ ।

आफूले भने राष्ट्रिय हित प्रतिकूल कुनै पनि काम नगरेको दाबी गरे । उनले भारत भ्रमणमा केही नै भएन भन्ने टिप्पणी भएको भन्दै उनले असन्तुष्टि जनाए ।

पहिलो पटक दुई जना प्रधानमन्त्रीले दुनियाँका अगाडि ‘सीमा समस्या हल गर्छौं’ भनेर प्रतिवद्धता जनाउनु ऐतिहासिक भएको उनले बताए । राम्रो विश्वासको वातावरण बनाएर मात्र लिपुलेक कालापानीको समस्या हल हुने उनको भनाइ छ । अहिले बलियो राष्ट्रिय एकता प्रदर्शन गर्दै भएका सहमति ठीक ढंगले कार्यान्वयन होस्, हुन बाँकी पनि छिटो होस् भन्दा मात्र नेपाल बलियो हुने उनले बताए ।

‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणले दुई देशबीच आपसी विश्वास बढाउन तथा आर्थिक विकासलाई केन्द्रमा राख्न सफल भएको बताए ।प्रधानमन्त्रीले भ्रमणका क्रममा आफूले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको समेत बताए। भ्रमणले नेपाल र भारतबीच विश्वासको वातावरण बनाएको र आगामी दिनमा त्यसको परिणाम देखिने उल्लेख गरे।