FLASH NEWS

नक्कली भुटानी शरणार्थी प्रकरण : दुलाल, भण्डारी र गुरुङकोतर्फबाट १३ जनाले गरे बहस


नेपाल आवाज २४ जेष्ठ २०८०, बुधबार २१:५१ मा प्रकाशित १९९३ पाठक संख्या

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा आजबाट थुनछेक बहस सुरू भएको छ ।


पहिलो दिन प्रतिवादीतर्फबाट १३ जना अधिवक्ताले बहस गरेका छन् । तीनजना प्रतिवादी केशव दुलाल, सानु भण्डारी र टंक गुरुङको पक्षबाट १३ जनाले बहस गरेका हुन् ।

सुरूमा केशव दुलालको तर्फबाट ६ जना वकिलले बहस गरेका थिए। दुलालको पक्षबाट विकास भट्टराई, विकास थापा, विश्वास आचार्य, योगेन्द्रबहादुर अधिकारी, नरबहादुर योगी र राजन भट्टराईले बहस गरेका हुन्।

यस्तै, सानु भण्डारी र टंक गुरूङको पक्षबाट अधिवक्ता विनोद शर्मा, चूडामणि पोखरेल, शिवप्रसाद रिजाल, साधुराम सापकोटा, शरदप्रसाद कोइराला, खडानन्द कँडेल र निरसिंह कुमार खत्री गरी सातजनाले बहस गरे।

भण्डारीको पक्षबाट भोलि पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्नेछन् ।

बहसका क्रममा अधिवक्ताहरूले प्रतिवादीलाई लगाइएको आरोप पुष्टि हुनै नसक्ने दाबी गरेका छन् । प्रतिवादीका तर्फबाट बहस सुरु भएको पहिलो दिन कानून व्यवसायी अनुसन्धान गर्ने प्रहरी र अभियोजन गर्ने सरकारी वकिलमाथि खनिएका छन् । वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारीले न्यायालयमाथि सुनियोजितरुपमा धावा बोलिएको बताए ।

अर्का वरिष्ठ अधिवक्ता शिवप्रसाद रिजालले जाहेरी प्रारम्भिक सूचना मात्र भएको र त्यसैलाई मात्र आधार बनाएर कसैलाई कसुरदार ठहर गर्न नमिल्ने बताए । सरकारी पक्षले गरेको अभियोजन पूर्वाग्रही रहेको उनको भनाई थियो । उनले सरकारी वकिललाई कानुनले स्वतन्त्रपूर्वक अनुसन्धान गर्ने अधिकार दिएको भएपनि हचुवाका भरमा काम सकेर अदालतमा मुद्दा थोपरिएको उनको भनाई थियो ।

प्रतिवादीका कानून व्यवसायीले जाहेरवालाबाटै गैरकानूनी काम भएको भन्दै उनीहरुलाई प्रतिवादी नबनाइएकोमा आपत्ति जनाएका छन् ।

‘कतिसम्म भने पीडितहरुबाट पैसा संकलन गरेर बुझाएको भनिएका गजेन्द्र बुढाथोकीलाई उन्मुक्ति दिइएको छ’, भण्डारीका कानून व्यवसायी शरदप्रसाद कोइरालाले भने ।

‘घुस खाने मात्र होइन, घुस दिने पनि अपराधी हुन् । तर यहाँ जाहेरवालालाई मतियार समेत बनाइएन ?’, वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारीले प्रश्न गरे ।

केशव दुलालका कानून व्यवसायी विकास थापाले प्रतिवादीहरुलाई गैरकानूनी काम गर्न जाहेरवालाले नै उक्साएको आरोप लगाए । ‘हामी नक्कली भुटानी शरणार्थी बन्न तयार भएर अमेरिका जान तयार छौँ भन्दै उफ्रिएर आएपछि यो घटना भएको देखिन्छ’, अधिवक्ता थापाले भने ।

अमेरिका नपुगेकै कारण जाहेरवाला पीडित भन्ने हो भने प्रतिवादीहरुले पनि अमेरिका पुर्याई नसकेको अवस्था भएकाले उनीहरु कसुरको भागिदार नभएको जिकिर गरे । वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारीले टुडिखेल मिलाई दिन्छु भनेर ठगी गर्यो भन्न नमिल्ने बताए ।

अधिवक्ता विनोद शर्माले थुनछेक बहसमा सरकारी वकिलले अन्तर्राष्ट्रिय समुदायले अदालतलाई हेरिरहेको छ भनेर दबाबमा पार्न खोजेको बताए ।

बहस भोलि पनि जारी रहनेछ ।