FLASH NEWS

प्रधानमन्त्री प्रचण्डद्वारा लुम्बिनी केबुलकारको उद्घाटन


नेपाल आवाज २५ जेष्ठ २०८०, बिहीबार १२:१९ मा प्रकाशित १६३३ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केबुलकारको उद्घाटन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहान सो केबुलकारको उद्घाटन गरेका हुन् ।


साढे ३ अर्ब लगानीमा  बुटवल–३ बम घाटमा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तीपुरमा टप स्टेसन रहेको लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।

बटम स्टेसन समुद्री सतहबाट २३० मिटर र टप स्टेसन ९४० मिटरको उचाइमा रहेको छ। दुई किलोमिटर ६ सय मिटर दूरीको लुम्बिनी केबलकारमा मोनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डुला (बाकस) रहेका छन् । एउटा गोण्डुलामा एकपटममा ८ जना यात्रु सवार गर्न सक्नेछन् ।

केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने आयोजना प्रमुख गोकुल साउदले बताए ।

केबलकारको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते  गरेका थिए ।

आन्तरिक र भारतीय पर्यटकलाई लक्षित गर्दै बनेको केबलकारको टप स्टेसनमा कामाख्यादेवीको आकर्षक मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगे धारा, पोखरीसहितका धार्मिक संरचनाहरू बनेका छन् ।

आइएमई समूहको लगानीमा बनेको सो केवलकार आजैदेखि व्यावसायिक रुपमा सञ्चालन भएको छ । केबलकारमार्फत बटम स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ।

यससँगै लुम्बिनी प्रदेशमा पर्यटनको ढोका खुलेको आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले बताए। बुटवलबाट प्रदेशको राजधानी सरेको र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको अवस्थामा केबलकार सञ्चालनले बुटवल तथा भैरहवा क्षेत्रको पर्यटन विकाससँगै आर्थिक गतिविधिलाई पनि चलायमान बनाउने उनले बताए। केबलकार सञ्चालनसँगै रुपन्देही फेरि गुल्जार हुने अध्यक्ष ढकालको भनाइ छ। उनले आन्तरिक पर्यटन प्रवद्र्धनका साथै बुद्ध जन्मस्थल लुम्बिनी आउने र भारतीय पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे।