FLASH NEWS

बालेनले राखे आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा, हर्क साम्पाङले पनि राख्ने


नेपाल आवाज २५ जेष्ठ २०८०, बिहीबार १६:५६ मा प्रकाशित २०११ पाठक संख्या

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्। बालेन निजी कामको सिलसिलामा भारतमा रहेका बेला बालेनले कार्यकक्षमा राखेको ग्रेटर नेपालको नक्साबारे उनका सचिवालयका सदस्यहरुले जानकारी दिएका हुन्।


नेपालको इतिहास कसैले मेटेर मेट्न नसकिने भन्दै बालेनले उक्त नक्सा राख्न लगाएका हुन् । नेपाल कुनै समय पूर्वमा टिस्टादेखि पश्चिममा सतलज नदीसम्म फैलिएको थियो। ब्रिटिस भारतसँग सुगौली सन्धिमा क्रममा नेपालले ती भूमि गुमाएको हो।

काठमाडौंका मेयर बालेन शाहले टिस्टादेखि सतलजसम्म फैलिएको उक्त भूमिसहितको ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेका हुन्।

उनको सचिवालयका सदस्यका अनुसार बालेन भारत भ्रमणबाट फर्केपछि उक्त नक्सा सार्वजनिक गर्ने योजनामा थिए।

भारतले नवनिर्मित संसद् भवनमा नेपालका भूभागसमेत समेटिएको अखण्ड भारतको ‘भित्तेचित्र’ राखेपछि नेपालमा त्यसको चर्को विरोध भए पनि भारतको चारदिने भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय नेतृत्वसँग औपचारिक कुराकानीका क्रममा यसबारे एक शब्दै बोलेनन्। परराष्ट्रमन्त्री एनपी साउदले त भारतको संसदमा राखिएको अखण्ड भारतको भित्तेचित्रबारे आफूलाई जानकारी नै नभएको बताएका थिए।

भारतले उक्त भित्तेचित्रमा नेपालका भूभाग समेटेपछि संसद्, सडक र सामाजिक सञ्जालमा पनि यसको चर्को विरोध भइरहेको छ। प्रधानमन्त्री प्रचण्डसहित नेतृत्वले भने यसलाई ‘अनदेखा’ गरिरहेको छ। प्रधानमन्त्री प्रचण्डले भारतीय पक्षले अनौपचारिक कुराकानीका क्रममा ‘सांस्कृतिक नक्सा’ हो भनेपछि आफूले कुरा अगाडि बढाइरहनु नपर्ने ठानेको बताएका थिए।

हर्क साम्पाङले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि आफ्नो कार्यकक्षमा यसको सिको गर्ने बताएका छन्।

बालेनले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको सार्वजनिक भएपछि हर्क साम्पाङले एक ट्विट गर्दै आफ्नो कार्यकक्षमा पनि ग्रेटर नेपालको नक्सा राख्ने जानकारी गराएका हुन्।

हर्क साम्पाङले लेखेका छन् – बालेनज्यूले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुभएछ। अब धरानमा पनि ग्रेटर नेपालको नक्सा राखिनेछ।

नेपालले पनि ग्रेटर नेपालको नक्सा निकाल्छ : गगन थापा

 नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालले पनि ग्रेटर नेपालको नक्सा निकाल्न सक्ने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुनै देशले सांस्कृतिक नक्सा बनाएर अघि बढाउँदा नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउन सक्ने बताएका हुन् ।

लिम्पियाधुरा, लिपुलेकमाथिको नेपालको अधिकार कसैले खोस्न नसक्ने भन्दै उनले  नेपालले हक र परिकल्पना प्रयोग गर्दा भारतले सहजतापूर्वक ग्रहण गर्नुपर्ने बताए ।