FLASH NEWS

नक्कली शरणार्थी प्रकरण : ६ प्रतिवादीको तर्फबाट बहस सकियो


नेपाल आवाज २५ जेष्ठ २०८०, बिहीबार २२:१२ मा प्रकाशित १३५७ पाठक संख्या

काठमाडौं – नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणका ६ जना प्रतिवादीको थुनछेक बहस सकिएको छ । बुधबारदेखि जिल्ला अदालत काठमाडौंले जारी थुनछेक बहसमा बिहीबार ६ प्रतिवादीको थुनछेक बहस सकिएको हो ।


प्रहरीद्वारा ठगी प्रकरणका मुख्य योजनाकार भनिएका सानु भण्डारी र टंक गुरुङका वकिलले बिहीबार थुनछेक बहस सकेका छन् ।

वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठले सानु भण्डारी र टंक गुरुङको तर्फबाट बहस गरेका थिए। त्यस्तै सन्देश शर्मा, सागर राई र इन्द्रजित राई,केशव दुलाल,सानु भण्डारी र टंक गुरुको पनि थुनछेक बहस सकिएको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन योजना बनाउने, नक्कली शरणार्थीबारे निर्णय गराउन गृहमन्त्रीदेखि गृह मन्त्रालयको संयन्त्रलाई प्रभावित पार्ने, सर्वसाधारणलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्ने प्रलोभनमा पारेर पैसा उठाउने, ‘हाइप्रोफाइल’लाई काम गरिदिएबापत बाँड्ने लगायतका काममा संलग्न रहेको सानु भण्डारीमाथि आरोप छ ।

सानु भण्डारीको घरबाट बरामद भएको भनिएको डायरीलाई लिएर प्रतिवादीलाई बलजफ्ती मुद्दा लगाइएको कानून व्यवसायीले तर्क गरेका छन् ।

वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले अनुसन्धान अधिकारीसँग भण्डारीलाई सुनियोजित रुपमा पटक पटक बयानमा उभ्याइएको भन्दै आशंका व्यक्त गरे । पहिलो बयानमा भण्डारीले इन्कारी बयान दिए पनि दोस्रो पटकको बयानमा साविती गरेको र अदालतमा आएर फेरि इन्कारी बयान दिइएको उनको भनाइ थियो ।

त्यसपछि उनले भण्डारीको घरबाट बरामद भएको भनिएको डायरीलाई जोडे । ‘भण्डारी हिरासतमा रहेका बेला उनको घरबाट प्रहरीले डायरी बरामद गरेको भनेको छ । तर, भन्डारीले उक्त डायरी आफ्नो नभएको र त्यहाँ लेखिएका कुराहरु पनि आफ्ना नभएको अदालतमा गरेको बयानमा भनेका छन्’, उनले भने ।

सरकारी वकिलले भने भण्डारीले उनको घरबाट बरामद भएको डायरी उनकै भएको स्वीकार गरेको र त्यहाँ उल्लेख भएका विषयहरु पनि उनी आफैंले लेखेको स्वीकार गरेको दाबी गरेको थियो ।

उक्त डायरीमा भण्डारीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईदेखि पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित विभिन्न व्यक्तिलाई दिएको रकम उल्लेख गरेको सरकारी वकिलको दाबी थियो । भण्डारीले आफूले पोलेका व्यक्तिहरुको नाम उल्लेख नगरेपछि आत्मदाह गर्ने चेतावनी दिएका कारण अनुसन्धान अधिकारीले दोस्रोपटक बयान गर्नु परेको चर्चा चले पनि अहिले आएर उनका कानून व्यवसायीले त्यसको खण्डन गरेका छन् ।

अधिवक्ता विनोद शर्माले आफूविरुद्ध जाहेरी दिएका अधिकांश जाहेरवाला नचिनेका कारण भण्डारीले त्यसो भनेको भन्दै बचाउ गरेका छन् ।

भण्डारीका अर्का कानून व्यवसायी शालिकराम सापकोटाले अनुसन्धान अधिकारी र सरकारी वकिल कार्यालयले भण्डारीको काँधमा बन्दुक राखेर मान्छे छानी छानी ड्यामेज गरिएको दाबी गरेका छन् ।

डायरीको व्यहोरा र त्यसैको आधारमा साविती बयान गर्न लगाएर आफूले चाहेका मान्छेलाई मात्र मुद्दा चलाइएको अधिवक्ता शरदप्रसाद कोइरालाले बताए । उनले डायरीलाई मात्र प्रमाण नमान्ने अदालतका नजिरहरु रहेको पनि दाबी गरे । व्यक्तिका कल रेकर्ड र म्यासेजमा अनुसन्धान गरेर प्रहरीले गोपनियताको हक पनि हनन गरेको तर्क उनले इजलाससमक्ष गरेका थिए ।

अर्का अधिवक्ता खडानन्द कँडेलले प्रतिवादीले अदालतमा गर्ने साविती बयानलाई पनि प्रमाणका रुपमा लिन छाडिएको भन्दै प्रतिवादीको बचाउ गरेका थिए ।

यस्तै, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईमाथि भुटानी शरणार्थी समस्या समाधान गर्ने समिति बनाउनका लागि भूमिका खेलेको, उक्त समिति बनाइसकेपछि सानु भण्डारी र केशव दुलालसँग पैसा लिएको र उनीहरूसँग मिलेर काम गरेको सरकारी वकिल कार्यलयलको आरोप छ ।

इन्द्रजीत राईका कानून व्यवसायीले पनि भण्डारीको बयान र उनको भनिएको डायरीको सेरोफेरोमा रहेर बहस गरेका छन् । वरिष्ठ अधिवक्ता बालकृष्ण ढकालले राईले कुनै पनि जाहेरवालाबाट पैसा लिएको प्रमाण पेश हुन नसकेको र उनलाई पोल गर्ने भण्डारीले पनि अदालतमा इन्करी बयान दिएका कारण निर्दोष रहेको भन्दै साधारण तारेखमा छाड्नुपर्ने माग गरे । अर्का वरिष्ठ अधिवक्ता प्रकाश केसीले डायरीमा लेखेकै आधारमा कसैलाई पनि प्रतिवादी बनाउन नमिल्ने बताए ।

अधिवक्ता दिलकुमारी राईले इन्द्रजित नेपालको गहना भएको दाबी गर्दै उनलाई राज्यले नै नेपाल झिकाएको दाबी गरिन्। इजलासमा उनले भनिन्, ‘उहाँ (इन्द्रजित राई) भारतमा प्रोफेसर हुनुहुन्थ्यो, राज्यले आवश्यक ठानेर बोलाएपछि आउनु भएको हो। राज्य आफैँले बोलाएर ल्याएको मान्छेलाई थुन्न मिल्छ?’

राई भारतमा पेन्सन पाकेपछि नेपाल फर्किएका हुन्। ‘उहाँ देशको गहना हो, विज्ञ बेञ्चले उहाँले गरेको योगदान हेरेर आदेश गर्नुपर्छ,’ अधिवक्ता राईले भनिन्। उनले राई गृहमन्त्रीको सल्लाहकार मात्रै भएकाले गृहमन्त्री र सचिवलाई छाडेर सल्लाहकारलाई मात्रै फसाइएको पनि गुनासो गरिन्। सहप्रतिवादीले पोलेकै भरमा पक्राउ गरिएको र अनुसन्धानदेखि नै इन्कार गर्दै आएकाले निर्दोष रहेको दाबी उनको छ।

अधिवक्ता प्रकाश केसीले पनि इन्द्रजितलाई थुनामा राख्न नहुने दाबी गरे। इन्द्रजित निर्दोष रहेको भन्दै उनले इजलासमा भने, ‘कसैले आरोप लगाउँदैमा जेल जानु पर्ने हो? कसैसँग चिनजान हुँदैमा अपराध हुँदैमा। अभियोग लगाउने सरकारी वकिललाई पनि मैले मुद्दा कमजोर बनाउन भन्दै ३ करोड दिएँ भनेँ भने उहाँलाई पनि ल्याएर थुन्न मिल्छ? यस्तै हो भने त थुन्न प¥यो नि।’

सहप्रतिवादीले भन्दैमा मुद्दा लगाउने हो भने बयानका क्रममा प्रतिवादीहरुले नाम लिएका व्यक्तिलाई किन छोडियो भन्दै उनले प्रश्न गरेका थिए। इन्द्रजित रोगी पनि भएकाले लामो समय जेलमा राख्न नमिल्ने केसीले बताए।

अधिवक्ता कुमार अधिकारीले पनि इन्द्रजितलाई थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग गरे।

बहसका क्रममा प्रतिवादीका कानून व्यवसायीले हचुवाका भरमा अभियोग लगाइएको र कुनै प्रमाण पेश गर्न नसकेको तर्क गरिरहेका छन् । हालसम्मको बहसमा कुनै पनि प्रतिवादीका कानून व्यवसायीले कुनै पनि जाहेरवालासँग पैसा नलिएको दाबी गरिरहेका छन् ।

बिहीबार इन्द्रजीतको पक्षबाट बहस हुनुअघि अन्य अभियुक्तहरु सागर राई र सन्देश शर्माको पक्षका वकिलले बहस गरेका थिए। सागर राईको तर्फबाट अधिवक्ताहरु प्रकाश पौडेल, विनोद कार्की, सन्तोष भट्ट र इन्द्रप्रसाद पोखरेलले बहस गरेका थिए।सन्देश शर्माको तर्फबाट अधिवक्ताहरु यज्ञ खतिवडा, गोपालराज अर्याल, नगेन्द्र चौहान, सुशीला कार्की र मंगल महतोले बहस गरे।

बुधबारदेखि अभियुक्तहरुको पक्षबाट वकिलहरुले बहस सुरु गरेका हुन्। बुधबार १३ जना वकिलले बहस गरेका थिए।

केशव दुलाल, सानु भण्डारी, टंक गुरु, सन्देश शर्मा, सागर राई र इन्द्रजित राईको तर्फबाट बहस सकिएको हो।

पूर्वउपप्रधानमन्त्री समेत रहेका टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे लगायतको तर्फबाट बहस हुन बाँकी छ। यो मुद्दामा ३० जनालाई प्रतिवादी बनाइएकोमा १८ जना हिरासतमा छन्।

१८ जनाको तर्फबाट बहसका लागि मंगलबारसम्म समय तोकिएको छ। बुधबार सरकारी वकिलले जवाफी बहस गरेपछि त्यसैदिन थुनछेक आदेश गर्ने न्यायाधीशले बताएका छन्।