FLASH NEWS

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी र छोरा सन्दीपका वकिलले आज बहस गर्ने


नेपाल आवाज २६ जेष्ठ २०८०, शुक्रबार ११:११ मा प्रकाशित १२६७ पाठक संख्या

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार टोपबहादुर रायमाझी र छोरा सन्दीपका वकिलले बहस गर्ने भएका छन्।


नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका नेकपा एमालेका सचिव टोपबहादुर र उनका छोरा सन्दीपका वकिलले आज बहस गर्ने भएका हुन्।

हालसम्म पक्राउ परेका १८ जना मध्ये ६ जनाको बयान सकिएको छ भने बाँकीको बयान हुने क्रममा छ। केशव दुलाल, सानु भण्डारी, टंक गुरु, सन्देश शर्मा, सागर राई र इन्द्रजित राईको तर्फबाट बहस सकिएको हो।

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री समेत रहेका एमाले सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाइ अभियोगपत्र दायर गरिएको छ। साथै, १२ जना अझै फरार रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

आज बहस हुन लागेका टोपबहादुर गत वैशाख ३१ गते पक्राउ परेका हुन् भने उनका छोरा सन्दीप वैशाख २२ गते पक्राउ परेका हुन्।