FLASH NEWS

‘देशमा अराजकताले सीमा नाघिसक्यो, अब इनफ इज इनफ’ : प्रचण्ड


नेपाल आवाज २६ जेष्ठ २०८०, शुक्रबार १९:३४ मा प्रकाशित १२०७ पाठक संख्या

काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अराजकताले सीमा नाघिसकेकाले इनफ इज इनफ भन्नुपर्ने अवस्था आइसकेको बताएका छन् ।


शुक्रबार दिउँसो काठमाडौंमा आयोजित रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले एकले अर्काको खुट्टा तान्ने र एकआपसमा गालीगलौज धेरै भइसकेकाले अब रोकिनुपर्ने बताए ।

‘नेपालमा अति भइसक्यो इनफ इज इनफ भन्छन्  नि त्यो गर्ने बेला भयो ।  एकले अर्काको खुट्टा तान्ने,आपसमा गालीगलौज गर्ने तँछाडमछाड धेरै भयो,’ प्रचण्डले भने, ‘देश बनाउन होइन, देश बिर्गान तँछाडमछाड गरे जस्तो विगतको अनुभव भयो । अब देश बनाउन राष्ट्रिय एकता गर्नुपर्ने भयो ।’

वैदेशिक रोजगारीबाट फर्किएकाहरू मात्रै नभएर वैदेशिक रोजगारीमा गएका लाखौँ नेपालीहरू नयाँ राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने उनले बताए ।

वैदेशिक रोजगारीमा भएका लाखौं दिदीबहिनीहरुलाई स्वदेशमै फर्किएर काम गर्ने वातावरण बनाउनुपर्ने प्रचण्डले बताए ।

‘देशमा नकारात्मक र अराजकता अस्थिरता पैदा गर्ने प्रवृत्ति र तत्त्वहरू छन् । हामी कसैले देशको एकतालाई कमजोर पार्ने भएको प्रगतिशील परिवर्तनलाई कमजोर पार्ने गर्नु हुँदैन,’ प्रचण्डले भने, ‘देशमा निराशा र असन्तुष्टिको प्रचार गर्ने  प्रवृत्तिलाई होइन देशको एकताको पक्षधर देशभक्तहरूलाई सहयोग गर्न अपिल गर्दछु ।’

विशिष्ट परिस्थितिमा गुज्रिएर नेपाल फर्किएकाहरूको पहलमा भएको भेलाले संगठनको कामसहित विदेशबाट फर्किएको जनशक्ति, पुँजी र सीपलाई एकीकृत रूपमा परिचालन गर्ने नीति र योजना पनि बनाउने विश्वास लिएका प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रकृतिले दिएको साधन स्रोतका दृष्टिले हामी गरिब छैनौँ, हामी धेरै धनी छौँ । हामीसँग जमिन, जंगल, हिमाल, जडीबुटी, जलविद्युतको उत्पादन र सदुपयोगमार्फत् निर्यातमुखी अर्थतन्त्रको विकास गर्नसक्ने प्रचुर सम्भावना छ । तर, त्यसको सही सदुपयोग गर्नुपर्ने चुनौती हाम्रासामु छ ।’

४० वर्षअघि खाद्यान्न निर्यात गर्ने नेपाल अहिले गरिब भएको भन्दै उनले भने, ‘हामीले विगतभन्दा राम्रो पढ्यौँ, राम्रो ज्ञान पनि आर्जन गयौँ । तर, हाम्रो श्रम संस्कृति कमजोर हुँदै गयो । हामी परनिर्भर हुँदै गयौँ । हामीले यसको गहिरो समीक्षा गर्न जरुरी छ । श्रम र मेहेनतविना संसारको कुनै पनि मुलुक बन्दैन र बनेको पनि छैन । त्यतातर्फ हामी सबैको ध्यान जान आवश्यक छ ।’

उत्पादन र रोजगारी नै अहिलेको मुख्य आवश्यकता रहेको बताउँदै उनले यसबाट मात्रै समाजवादको आधार निर्माण गर्न सकिने भएकाले यसपटकको नीति तथा कार्यक्रममा उत्पादन, रोजगारी र कृषिलाई सबैभन्दा उच्च महत्त्व दिएको बताए ।

उनले विगतका अनुभवबाट शिक्षा लिएर यसपटक सिधै किसानको हातमा अनुदान दिने नीति लिएको बताए । ‘विगतमा अर्बौं, अरबका अनुदानका कार्यक्रम बने । तर, तिनीहरूको सही सदुपयोग हुन सकेन । जसले उत्पादन गर्छ, उसले अनुदान नपाउने स्थिति रह्यो । त्यो एक प्रकारले बालुवामा पानी हालेजस्तै भयो । विगतका अनुभवबाट शिक्षा लिएर सरकारले यसपटक सिधै किसानको हातमा पुग्ने गरी अनुदान दिने नीति लिएको छ ।’ प्रचण्डले भने ।