FLASH NEWS

‘राष्ट्रिय सहमतिका आधारमा नागरिकता सम्बन्धी ऐन बनाऔं’ : कमल थापा


नेपाल आवाज २६ जेष्ठ २०८०, शुक्रबार १९:५१ मा प्रकाशित १६१५ पाठक संख्या

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमतिका आधारमा नागरिकता सम्बन्धी ऐन बनाउनुपर्ने बताएका छन् ।


शुक्रबार राष्ट्रघात, भ्रष्टाचार, धर्म परिवर्तन र कुशासनको विरोधमा राप्रपा नेपालको संयुक्त जनवर्गीय संगठनहरूले आयोजना गरेको विरोध प्रदर्शनमा अध्यक्ष थापाले नागरिकता सम्बन्धी समस्या सदाका लागि अन्त्य गर्दै राष्ट्रिय सहमतिका आधारमा नागरिकता सम्बन्धी ऐन बनाउनुपर्ने बताएका हुन् ।

उनले कुनै पनि नागरिकले नागरिकता पाउनबाट वञ्चित नहुने र कुनै पनि विदेशीलाई नागरिकता नदिने गरि यसलाई टुङ्गोमा पुर्‍याउनुपर्नेमा जोड दिए ।

त्यस्तै अध्यक्ष थापाले प्रधानमन्त्रीको भारत भ्रमणमा क्रममा नेपालको राष्ट्रिय, स्वतन्त्रता र स्वाभिमानको विरुद्धमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए ।

नेपालको भूमि बंगलादेशको मोडेलमा जस्तै सट्टापट्टा गर्न सकिने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको उनले बताए । उनले आफ्नो भूमिको रक्षाको निमित्त जस्तोसुकै त्याग र बलिदान दिन तयार रहेको जिकिर गरे । उनले आपत्तिजनक अभिव्यक्ति फिर्ता दिन प्रधानमन्त्रीलाई आग्रह गरे ।

यस्तै, देशमा भएका ठूला भ्रष्टाचारका काण्डहरुको फाइल खोलेर दोषीलाई तत्काल कार्बाही प्रक्रिया अघि बढाउनुपर्ने थापाको भनाइ थियो । ‘वाइडवडी घोटाला, एनसेल करछली, ललिता निवास काण्ड, तेत्तीस क्विन्टल सुन काण्ड ,सार्बजनिक जग्गा अतिक्रमण’ जस्ता जघन्य भ्रष्टाचारका काण्डहरुको सत्यतथ्य छानबिन गरी दोषीलाई कार्बाही हुनुपर्ने बताए ।

मुलुकको पहिचानको रुपमा रहेको हिन्दुराष्ट्रलाई अनावश्यक रुपमा हटाइएको भन्दै थापाले मुलुकलाई सर्बधर्म समभाब सहितको सनातन हिन्दुराष्ट्र हुनुपर्ने बिचार ब्यक्त गरे ।

उनले गणतन्त्रले देशलाई स्थायी र समृद्धिको दिशामा लैजान नसकेको बताए। अब राजादेखि बिप्लब माओवादीसम्म अट्ने राज्य प्रणालीबारे बहस हुनुपर्नेमा थापाको जोड थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणको चुरो सम्म पुग्न र दोषीलाई कार्बाही गर्ने हिम्मत गर्न समेत थापाले आग्रह गरे ।

बेरोजगारी र बढ्दो धर्म परिवर्तनप्रति सरकार उदासीन भएकोमा आपत्ति प्रकट गर्दै थापाले मुलुकको डरलाग्दो वित्तीय सड्ढट समाधानको निमित्त सरकारसँग कुनै नीति, योजना कार्यक्रम नभएको समेत जिकिर गरे ।

राप्रपा नेपालको प्रदर्शनमा राष्ट्रघाती नागरिकता विधेयक खारेज गर’, ‘भ्रष्टाचार अन्त्य गर’, ‘नेपाली भूमि सट्टापट्टा नीति मुर्दावाद’, ‘हिन्दुराष्ट्र कायम गर’, ‘संघीयता खारेज गर’, ‘सहकारी र बैंकको ऋणबाट पिडितको उद्धार गर’,‘नक्कली भुटानी शरणार्थी काण्डका बाँकी दोषीहरुलाई कानुनको कठघरामा खडा गर’ लगायत प्लेकार्ड प्रदर्शन गरेका थिए ।