FLASH NEWS

राजेन्द्र लिङ्देनको टिप्पणी – भारतीयहरूले गेरुवस्त्र लगाइदिएपछि प्रचण्ड पशुपति गए


नेपाल आवाज २८ जेष्ठ २०८०, आईतवार १८:२१ मा प्रकाशित ११३५ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई देखाउनका लागि मात्रै पशुपतिनाथको दर्शन गरेको टिप्पणी गरेका छन् ।


आइतवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले देशको प्रधानमन्त्री, मन्त्री, प्रतिनिधिले हिन्दु राष्ट्रको मुद्दालाई अन्तरहृदयबाट नै स्वीकार गरेको भए स्वागतयोग्य रहेको बताए ।

‘धर्म भन्ने चिज नराम्रो होइन । हामीले धर्मको नाममा राजनीति गर्छन् भने अरुले अधर्मको राजनीति गर्छन् ? धर्म कहीं गलत र नकारात्मक अर्थमा प्रयोग हुन्छ ? धर्म भन्ने नै सत्य हो, न्याय हो । राम्रो अर्थमा मात्रै प्रयोग हुन्छ’, अध्यक्ष लिङदेनले भने, ‘धर्मरहित राजनीति कसैले गर्छ भनेर उसमाथि सबैले शंका व्यक्त गर्नुपर्ने हुन्छ ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा भारतीयहरूले गेरुवस्त्र लगाइदिएपछि पशुपतिनाथमा पहिलोपटक पुगेर नेपालीहरूलाई देखाउनका लागि मात्रै पशुपतिनाथको दर्शन गरेका उनको आरोप थियो । कसैलाई चित्त बुझाउनका लागि पशुपतिनाथको दर्शन गरेको भए त्यो दुर्भाग्य भएको नेता लिङ्देनको तर्क थियो ।

प्रधानमन्त्री दाहालले पशुपतिनाथको दर्शन गर्नुको रहस्य राप्रपाले हिन्दु राष्ट्र बनाउनका लागि ल्याएको प्रस्तावबाट पत्ता लाग्ने बताउँदै उनले राप्रपाले उपयुक्त समयमा हिन्दु राष्ट्रका लागि संविधान संशोधनको प्रस्ताव ल्याउने बताए ।

‘हामी अत्यन्त खुशी हुन्छौं, देशको प्रधानमन्त्री, मन्त्री, प्रतिनिधिले हिन्दु राष्ट्रको मुद्दालाई स्वीकार गर्नुभयो । त्योभन्दा खुशी के हुन्छ र ? तर नक्कली बनेर यो देखाउनका लागि मात्रै गरिएको हो भने कसैलाई चित्त बुझाउनका लागि भयो भने दुर्भाग्यको कुरा हो । यो अन्तरहृदयबाट जागृत हुन्छ, कसैको दबाब, प्रभावबाट हुने होइन । नेपाली सन्तानले पशुपतिनाथप्रति आस्था व्यक्त गर्नु राम्रो हो । अन्तरहृदयबाट स्वीकार भएको भए राम्रो हो । तर प्रधानमन्त्री जीवनकालमै पशुपति नजाने तर भारत गएर आएपछि भारतीयहरुले गेरुवस्त्र लगाइदिएपछि पशुपति जानुभएको भन्ने लाग्छ । अब उपयुक्त समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनको प्रस्ताव ल्याउँछ, त्यसबेला प्रधानमन्त्रीको अग्नीपरीक्षा हुन्छ ।’  लिङ्देनले भने ।

आफूले धर्मको राजनीति नगरेको स्पष्ट पार्दै उनले हिन्दु राष्ट्र देशको लागि आवश्यक भएको बताए ।