FLASH NEWS

बजेट नसच्याए सरकार ढल्छः माधव नेपाल


नेपाल आवाज २८ जेष्ठ २०८०, आईतवार २०:३४ मा प्रकाशित १७५३ पाठक संख्या

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने आशय व्यक्त गरेका छन्।


आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सत्ता गठबन्धन ५ वर्षै चलाउनुपर्ने र त्यसका लागि प्रयास गर्ने भए पनि बजेट यथास्थितिमा पास भए सरकार ढल्ने आशंका व्यक्त गरेका हुन्।

उनले बजेटमा सबैजना असन्तुष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीले लचकता नदेखाए सरकार दुर्घटनामा जाने चेतावनी दिए। उनले बजेट तीन जिल्ला (गोरखा, डडेलधुरा र नुवाकोट) केन्द्रित भएको बताउँदै आएका छन्। साथै पार्टीले पनि बजेट यथास्थितिमा पास गर्न नदिने अडान लिइरहेको छ।

एकीकृत समाजवादी दुई मन्त्रालयसहित सरकारमा सहभागी छ। सत्तापक्षकै सांसदहरुले बजेट आवश्यकताअनुसारको नभएको टिप्पणी गर्दै आइरहेका छन्।

उनले भने, ‘बजेटप्रति साथीहरु सबै असन्तुष्ट नै हुनुहुन्छ। अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन। यो विषय मरेको छैन तर यही स्थितिले जाने हो भने दुर्घटनातिर जान्छ कि जस्तो पनि लाग्छ। सरकार दुर्घटनामा जान्छ। तर त्यस्तो नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ, चित्त बुझाउनुपर्छ, बेठीक भएको कुरालाई करेक्शन गर्नुपर्छ। मेरो पनि प्रयास छ, सबैले लचकता देखाउँ। यो सकरार ढल्न दिनु हुँदैन, ५ वर्षसम्म यो गठबन्धन चल्छ।’