FLASH NEWS

प्रचण्ड, बाबुरामविरुद्धको रिटमा आज सुनुवाइ हुँदै


नेपाल आवाज ३० जेष्ठ २०८०, मंगलवार १०:३९ मा प्रकाशित १२९१ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वमाओवादी नेता बाबुराम भट्टराईलगायतविरुद्ध सर्वोच्चमा दायर गरेको रिटमा मंगलबार सुनुवाइ हुँदैछ।


पूर्वअयोग्य लडाकु लेनिन विष्टसहित नौ जनाले दायर गरेकाे रिटमाथि आज सुनुवाइ हुन लागेकाे हाे।

प्रधानमन्त्री दाहाल तथा पूर्वप्रधानमन्त्री भट्टराईबिरुद्ध युद्ध अपराधमा दायर गरिएको रिट सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो।

यद्यपि आनन्दमोहन भट्टराईको एकल इजलासले गत शुक्रबार उक्त मुद्दा दर्ता गर्न आदेश दिएको थियो।

न्यायाधीश भट्टराईको एकल इजलासले माओवादी युद्धका अगुवा नेताहरू दाहाल प्रचण्ड र भट्टराईलाई युद्ध अपराधमा कारबाहीको माग गर्दै लेनिन विष्टसहित ९ जनाले दिएको रिट निवेदन दर्ता गर्न आदेश दिएको हो ।

नौजना पूर्वबाल सैनिकहरूले हाल प्रधानमन्त्रीसमेत रहेका दाहाल र माओवादी छाडेका भट्टराईले आफूहरुलाई अनाहकमा युद्धका लगाएको दाबी गर्दै कारबाहीको माग गरेका हुन्। उनीहरूले अनमिनको वर्गिकरणका क्रममा आफूहरूलाई अयोग्य घोषित गरेर शोषण गरेको दाबीसमेत गरेका छन्।

उनीहरूले बालसैनिकका रूपमा पहिचान भएका आफूहरूजस्ता २९२७ जनालाई ‘अयोग्य लडाकु’को मान्यता दिने निर्णयसमेत बदर गर्न माग गरेका छन्।

निवेदकहरुले आफूहरूलाई प्रचण्ड र बाबुरामले ढाँटेर युद्धमा होमेर भविष्य बरबाद गरेको आरोप पनि लगाएका छन्।

सशस्त्र द्वन्द्वमा बाल सेना भर्ती गराउनु हुन्न भन्ने तथ्य ढाँटी आफूहरूजस्तालाई बाल सैन्यका रूपमा भर्ती गरी सुन्दर भविष्य बरबाद गर्ने र युद्ध अपराधको भागीदार भई अन्तर्राष्ट्रिय मानवीय कानुन उल्लङ्घन गर्ने विपक्षीद्वय पुष्पकमल दाहाल र बाबुराम भट्टराईमाथि प्रचलित अन्तर्राष्ट्रिय कानुन बमोजिम कानुनको दायरामा ल्याउन राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आवश्यक पर्ने कार्य गर्नु र घरेलु रूपमा कानुनको दायरामा ल्याउन संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्सँग समन्वय गरी संयुक्त राष्ट्रसंघीय आयोग स्थापित गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन परमादेश पनि माग गरेका छन् ।