FLASH NEWS

नागरिकता माग गर्दै आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास


नेपाल आवाज ३० जेष्ठ २०८०, मंगलवार १८:१४ मा प्रकाशित १४८३ पाठक संख्या

काठमाडौं – नागरिकता माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन्। नागरिकता माग गर्दै मोरङ कटहरीका २५ वर्षीय निरजकुमार कामतले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।


उनका अनुसार ती युवकले शरीरमा आगो लगाउन भने पाएनन्। कामतले शरीरमा पेट्रोल खन्याएको थाहा पाएपछि प्रहरीले तत्काल उनलाई उद्धार गरेको हो।

‘आफैंलाई पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेका थिए,’ एसपी रिजालले भने, ‘पेट्रोल खन्याउँदा खन्याउँदै प्रहरीले रोकेको हो। उनको शरीरमा आगो लाग्न भने पाएन।’

अहिले उपचारका लागि उनलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ। सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ। सोही क्रममा आत्मदाहको प्रयास भएको हो।

निरजकुमारका हजुरबुबा र बुबाले जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए । उनका बाबुले २०६४ मा जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए । १८ वर्ष पुगेपछि नागरिकता लिने प्रयास गरेका निरज पछिल्लो पाँच वर्षदेखि नागरिकताका लागि आन्दोलनरत छन् ।