FLASH NEWS

भ्रष्टाचारी जोगाउन कुनै सम्झौता गर्दैनौं : प्रधानमन्त्री प्रचण्ड


नेपाल आवाज ३१ जेष्ठ २०८०, बुधबार १२:२० मा प्रकाशित १०९३ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारी जोगाउन कुनै सम्झौता नगर्ने बताएका छन् ।


प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँग आज बिहान बालुवाटारस्थित निवासमा भएको भेटमा उनले भ्रष्टाचारीहरूलाई जोगाउनुभन्दा आफूहरू सरकार छाड्न तयार रहेको बताएका हुन् ।

उनले भने, ‘हामी सत्ता स्वार्थकै लागि भ्रष्टाचारीलाई उन्मुक्ति दिने पक्षमा छैनौं । बरु सरकार छोड्न परे पनि परोस् । भ्रष्ट्राचार र सुशासन विरुद्धका हाम्रो अभियान जारी रहन्छ । यसमा कसैले शंका नगरे हुन्छ ।’ प्रचण्डले सरकार आफ्ना लागि ठूलो कुरा नभएको भन्दै गलत सम्झौता नगर्ने बताए ।

पछिल्लो पटक सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको भ्रष्टाचारविरुद्ध चालेको कदम र आफ्नो भारत भ्रमणको क्रममा भएका सहमति-सम्झौता ऐतिहासिक भएको प्रचण्डले बताएका छन् ।

एकथरीले भ्रष्टाचारविरुद्ध लड्ने हामी हौं भनेर जनतामा भ्रम सिर्जना गर्न खोजेको र असली राष्ट्रवादी म हुँ भनेर प्रचार गर्न खोजेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘राष्ट्रवादको कुरा गर्ने हो भने अहिलेको भारत भ्रमण जतिको राष्ट्रवाद केही पनि होइन ।’

भारतमा १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात, नेपाल-भारत पारवहन सम्झौता नवीकरण, हवाई रुट, भन्सार जाँच चौकी लगायतका विषयमा भएका सम्झौता ऐतिहासिक भएको प्रचण्डको दाबी छ ।

घेराबन्दी र अप्ठ्यारो परिस्थितिका बीच सरकारले राम्रा काम गरेको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसको प्रचार भने कम भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका राम्रा काम देखेर प्रमुख प्रतिपक्ष लगायत नयाँ भनिएका दलहरुलाई अपाच्य भएको भन्दै सदनदेखि सडकसम्म भ्रम सृजना गर्ने काम गरिरहेको र यसले उनीहरू नांगिदैँ गएको बताए ।

आज भएको उक्त भेटमा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा (जुगल)ले प्रधानमन्त्री दाहाललाई १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए।

ध्यानाकर्षण पत्रमा समानुपातिक विज्ञापनको नीति व्यवहारिक रुपमा तत्काल कार्यान्वयन गर्नुपर्ने, सबै विज्ञापनलाई एकद्वार प्रणालीमा लैजाने व्यवस्था मिलाउनुपर्ने, अनलाइन सञ्चार माध्यमहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउनुपर्ने लगायतका बुँदा उल्लेख छन्।