FLASH NEWS

अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा कलाकार ‘बल्छी ध्रुबे’सहित आठ जना पक्राउ


नेपाल आवाज ३२ जेष्ठ २०८०, बिहीबार १४:११ मा प्रकाशित २०५३ पाठक संख्या

काठमाडौं – सानोपर्दाको लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’,राजुमास्टर उर्फ राजु पौडेल पक्राउ परेका छन् ।


प्रतिबन्धित अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा उनीहरु सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जसमा ‘म्याकुरी’ पवन खतिवडा,युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर ‘जलन’, गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो) र भटभटे माइला भन्ने बेगम नेपाली छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन बेटिङ ‘वान एक्स बेट’मा युट्युबमार्फत प्रचारप्रसार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ।

यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो।

यहि प्रकरणमा अन्य कलाकार तथा युट्युबर पनि पक्राउको सूचीमा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

त्यसरी अपरेसन चलाएर बुधबारमात्रै वानएक्स बेटमार्फत एक अर्ब बढीको सट्टेबाजी गराउने पाँच एजेन्टलाई सार्वजनिक गरेको थियो ।

नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ । धारा १२५ को ९२० को उपदफा ९१० को (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र उपदफा (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

सरकारले नेपालमा अनलाइन सट्टेबाजी गराउने वनएक्स बेटलगायत वेबसाइटमाथि प्रतिबन्ध लगाउने निर्णय गरे पनि अनलाइनमार्फत सट्टेबाजी गर्ने/गराउने प्रवृत्तिमा नियन्त्रण हुन सकेको छैन ।