FLASH NEWS

फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल : नेपाल फिलिपिन्ससँग पराजित


नेपाल आवाज ३२ जेष्ठ २०८०, बिहीबार १९:०४ मा प्रकाशित १४११ पाठक संख्या

काठमाडौं – फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली फिलिपिन्ससँग पराजित भएको छ ।


रिजल मेमोरियल स्टेडियममा बिहीबार भएको खेलमा नेपाललाई फिलिपिन्सले १-० गोल अन्तरले हराएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेपालले गोल खाएको थियो । फिलिपिन्सको जितमा जार्भे गायोसोले निर्णायक गोल गरे ।

फिलिपिन्सविरुद्ध डिफेन्डर विमल पाण्डे र मिडफिल्डर लाकेन लिम्बुले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । दुबै खेलाडी सुरुआती-११ मा पर्दै डेब्यु गरेका हुन् ।

भारतमा आयोजना हुने १४ औं संस्करणको साफ च्याम्पियनसिपको तयारी अन्तर्गत नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेलेको हो ।

भारतको बेंगलुरुमा आयोजना हुने साफ असार ६ देखि १८ गतेसम्म हुनेछ । यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । यस पटक कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा साफ खेल्ने छन् ।

साफमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ ।

समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ ।

साफको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुनेछ । असार ६ गते हुने नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा नेपालले ९ असारमा आयोजक भारतसँग खेल्नेछ । तेस्रो तथा समूह चरणको अन्तिम खेलमा १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ ।

माल्दिभ्समा आयोजना भएको १३ औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । नेपाल उपाधि भिडन्तमा भारतसँग ३-० ले पराजित भएको थियो ।