FLASH NEWS

बजेटमा सत्तापक्ष भित्र रुवाबासीको अवस्था देखिनु बिडम्बनापूर्ण : अध्यक्ष लिङ्देन


नेपाल आवाज १ असार २०८०, शुक्रबार १४:५३ मा प्रकाशित १४३५ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बजेट सच्याएर ल्याउन सरकारसँग माग गरेका छन् । बजेट सच्याएर नल्याए जनताले नमान्ने र संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने उनको भनाई थियो ।


शुक्रबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले बजेट सच्याएर ल्याउने काम सत्तापक्षले गरे एउटा राम्रो परम्पराको सुरुवात पनि हुने र संसदको पनि गरिमा बढने बताए ।

अध्यक्ष लिङ्देनले बजेटमा सत्तापक्ष भित्र रुवाबासीको अवस्था रहेको देखिनु बिडम्बनापूर्ण रहेको समेत बताए ।  ‘…यो सच्याउनुस्। हारजितको कुरा होइन। अघिल्लो पटक पनि मैले भनेको छु– यो बजेटमा संशोधन गरियो भने यसले नोक्सान हुँदैन,’

उनले भने, ‘संसदको सुझावअनुसार हामीले बजेटमा परिमार्जन गर्‍यौँ भन्दाखेरी कसैले हारेको हुँदैन। एउटा राम्रो परम्पराको सुरुवात पनि हुन्छ। संसदको गरिमा पनि रहन्छ।’

बजेट सच्याएर नल्याए जनताले नमान्ने र संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने उनको भनाइ थियो।

‘तपाईंहरुले के–के व्यवस्था भन्नु भएको छ। त्यो व्यवस्थालाई असफल पार्न यसैले मद्दत गर्दछ। जबसम्म सच्चिनु हुन्न, सच्चिन तयार हुनुहुन्न। हाम्रो एउटा बाटो नबन्ल, १/२ साल ढिलो होला, पाएको बेला बनाउँला, दुःख गरौँला। केही फरक पर्दैन। तर जनताले हेरिराखेको हुन्छ,’ उनले भने।

अध्यक्ष लिङ्देनले सत्तारुढ दलहरुले लोभ गरेर आफ्नो पक्षमा पारेको बजेट खर्च हुने अवस्था नरहेको जिकीर समेत गरे ।