FLASH NEWS

प्राधिकरणले सोध्यो मेयर बालेनलाई ७ दिने स्पष्टीकरण, जरिवाना नतिरे उडानमा प्रतिबन्ध


नेपाल आवाज १ असार २०८०, शुक्रबार १६:१६ मा प्रकाशित २१७९ पाठक संख्या

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) सहित तीन जनालाई स्पष्टीकरण सोधेको छ ।


सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको विषयमा प्राधिकरणले स्पष्टीकरण सोधेको हो।

प्राधिकरणका अनुसार महानगरको ९ नम्बर वडामा पर्ने प्राधिकरणको विमानस्थल क्षेत्रसँग सम्बन्धित क्षेत्रमा बिहीबार महानगरले नगरप्रहरीसहितको टोली पठाई फेन्सिङ तार काटिदिएको थियो ।

प्राधिकरणको विमानस्थल क्षेत्रसँग सम्बन्धित क्षेत्रमा बिहीबार महानगरले नगरप्रहरीसहितको टोली पठाई फेन्सिङ तार काटेको नगर प्रहरी एसपी दिनेश कुमार अर्याललेसमेत जानकारी दिएका छन्।

सोही विषयमा प्राधिकरणले महानगर प्रमुखसहित ३ जनालाई स्पष्टीकरण सोधेको हो। पत्र प्राप्त भएको ७ दिन भित्र लिखित जवाफ पेश गर्न प्राधिकरणले चेतावनी दिएको छ। प्राधिकरणले यस कार्यलाई कानुनविपरीत भएको बताएको छ।

प्राधिकरणले यसै विषयमा महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीलाई पनि सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनेको छ ।

मेयर बालेनले प्राधिकरणको ऐन उल्लंघन गरेको पुष्टि भएमा ५० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था छ साथै जरिवाना नतिरेमा उडानमा प्रतिबन्ध लगाउन सकिने प्राधिकरणको कानुनमा व्यवस्था रहेको छ ।