FLASH NEWS

देश र जातिहरुलाई फुटाएर राष्ट्रको हित हुँदैन : प्रधानमन्त्री प्रचण्ड


नेपाल आवाज १ असार २०८०, शुक्रबार १७:३५ मा प्रकाशित १६३३ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जातिहरुलाई फुटाएर राष्ट्रको हित नहुने बताएका छन् । भूमे/भूम्या पर्वको अवसरमा नेपाल मगर संंघले शुक्रबार खुल्लामञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले जनगणनामा भएको जातिहरु बारेका विषयमा स्पष्ट गर्ने र आवश्यक कुरा सच्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।


‘नेपाल बहुजाति, बहुभाषा, बहुसंस्कृति र भौगोलिक विविधता सहितको देश हो । यो हाम्रो ऐतिहासिक विरासत र नेपालको एउटा विशिष्ट राष्ट्रिय पहिचानको अभिव्यक्ति पनि हो’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्रीले प्रकृतिको पूजा गर्नुको पछाडि निश्चित दर्शन र उद्देश्य अन्तर्निहित रहेको उल्लेख गर्दै मानिस पनि प्रकृतिकै एक अंग भएको बताए ।

‘मानिस र प्रकृतिको बीचको सम्बन्ध कसरी सुरक्षित राख्ने र कसरी संरक्षण गर्ने भन्ने उद्देश्य सहित यस्ता पर्वहरू मनाउने गरिएको हो । मगर समुदाय मात्र नभई आदिवासी जनजाति सबैले नै प्रकृतिको पूजा गर्ने संस्कार छ । प्रकृतिको पूजा एउटा समुदायमा मात्रको सीमित छैन । प्रकृतिको संरक्षण र सुरक्षा गर्ने कुरा मानव जाति कै हितसँग जोडिएको छ’, प्रधानमन्त्रीको भनाइ छ ।

यस्ता पर्व मनाउनुको तात्पर्य नयाँ राष्ट्रिय एकता कायम गर्नु पनि भएको उनको भनाई छ । प्रकृतिलाई विनाश हुन नदिन र जलवायुको संरक्षण गर्ने कुरासँग सिंगो प्रकृति र मानिस बीचको अन्तरसम्बन्धलाई कायम गर्ने उद्देश्यद्वारा प्रेरित रहेको प्रधानमन्त्रीले बताए ।

राष्ट्रिय जनगणना २०७८ मा पुन मगरलाई छुट्टै जातिको रुपमा राखेर त्रुटि गरिएको कुरालाई सच्याउने प्रतिबद्धता जनाएका छन्।

उनले पुन मगरलगायतका अन्य जनजातिहरुलाई राष्ट्रिय जनगणनामा छुट्याउने काम भएकोबारेमा आफूलाई जानकारी नभएको भन्दै गुनासो आएसँगै तथ्यांक विभागलाई निर्देशन दिइसकेको बताए।

उनले मगर समुदायले राजनीतिक परिवर्तनमा खेलेको भूमिकालाई सम्मान गर्दै आफूले मगर समुदायका नेताहरुलाई उपराष्ट्रपति, सभामुख, रक्षामन्त्री, अर्थमन्त्री, राष्ट्रियसभा सदस्यलगायतमा अघि सारेको पनि बताए।

सबै क्षेत्रको जनताको त्याग, तपस्या र बलिदानको कारणले नै अहिले यहाँसम्म आइपुगेको बताए ।