FLASH NEWS

पूर्वमन्त्री रायमाझी र खाणसहित ८ जना भद्रबन्दी गृहमा, बाँकी ८ लाई केन्द्रीय कारागार


नेपाल आवाज १ असार २०८०, शुक्रबार २१:२१ मा प्रकाशित २३२९ पाठक संख्या

काठमाडौं – जिल्ला अदालत काठमाडौंको आदेशपछि पुर्पक्षका लागि थुनामा पठाइएका १६ अभियुक्तलाई केन्द्रीय कारागारका दुई छुट्टाछुट्टै भवनमा राखिएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधका दुई पूर्वमन्त्रीसहित १६ अभियुक्तमध्ये ८ जनालाई भद्रबन्दी गृह र अन्यलाई केन्द्रीय कारागार भवनमा राखिएको छ ।


केन्द्रीय कारागारका जेलर ललितकुमार बस्नेतका अनुसार पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित नरेन्द्र केसी, गोविन्द चौधरी, रामशरण केसी, समशेर मियाँ, सन्दीप रायमाझी र आङटावा शेर्पालाई भन्द्रबन्दी गृहमा राखिएको छ । त्यस्तै नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, हरिभक्त महर्जन र सागर थुलुङ राईलाई केन्द्रीय कारागारको भवनमा राखिएको हो ।

शुक्रबार जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेका १८ अभियुक्तमध्ये टंक गुरुङ र लक्ष्मी महर्जनलाई धरौटीमा छाड्न र बाँकी १६ जनालाई मुद्दाको किनारा नलागेसम्म थुनामा पठाउन आदेश दिएको थियो । लगत्तै उनीहरुलाई कारागार पठाइएको हो ।

यो प्रकरणका अन्य अभियुक्त केशव तुलाधर, अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाञी, निरज राई, रजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, बिनिता सावदेन लिम्बु, निरञ्जन कुमार खरेल, सुनील बुढाथोकी र प्रतिक थापा अझै फरार रहेका छन्।