FLASH NEWS

राष्ट्रपति पौडेल अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थिर


नेपाल आवाज २ असार २०८०, शनिबार १२:०१ मा प्रकाशित १७८९ पाठक संख्या

काठमाडौं – स्वास्थ्यमा पुनःसमस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।


शुक्रबार राति स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको राष्ट्रपतिको सचिवालयले जनाएको हो ।

मुटुमा पुनः समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना भएका हुन् । राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी चिकित्सकहरूको निगरानीमा राखिएको छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।

सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मणि गजुरेलले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिको मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएको जनाएको छ ।

गत मंगलबार राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए । अस्पतालमा पौडेलको मुटुको परीक्षण र २४ घन्टा चिकित्सकहरुको निगरानीपछि पौडेललाई अस्पतालले बुधबार बिहान डिस्चार्ज गरिएको थियो । डिस्चार्ज भएको केही दिनमै उनलाई पुन: समस्या देखिएको हो ।

अस्पताल स्रोतका अनुसार पौडेलको मुटुको दाहिनेतर्फ एउटा नसा ७० प्रतिशत बन्द भएको पाइएको थियो । त्यसपछि एनजिओप्लास्टी गरेर रक्तनली खोलिएको थियो ।

अघिल्लो महिना मात्रै राष्ट्रपति पौडेलले भारतको नयाँदिल्लीमा उपचार गराएका थिए ।