FLASH NEWS

प्रधानमन्त्री प्रचण्ड आज दिनभर सिन्धुपाल्चोकमा रहने


नेपाल आवाज २ असार २०८०, शनिबार १२:२० मा प्रकाशित १७६५ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षणका लागि सिन्धुपाल्चोक पुगेका छन्।


प्रचण्ड शनिबार बिहान सिन्धुपाल्चोक गएका हुन्। उनलाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल,मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले स्वागत गरेका थिए ।

गौरवको आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउन प्रधानमन्त्री प्रचण्डले स्थलगत अवलोकन गर्दै आएका छन् । उनका साथमा खानेपानीमन्त्री महिन्द्र राय यादव, स्वस्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलगायत छन्।

दुई वर्षअघि आजकै दिन ठूला बाढी आएको थियो। बाढीका कारण दर्जनौं घरहरू बगाएका थिए। बाढीले मेलम्ची खानेपानी आयोजनामा समेत क्षति पुर्‍याएको थियो। वर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनः सञ्चालन गरिएको थियो ।प्रधानमन्त्री प्रचण्डले बाढीले क्षति पुर्‍याएका घरहरूको पुनः निर्माणबारे पनि अवलोकन र निरीक्षण गर्नेछन्।

प्रधानमन्त्री प्रचण्डसहितको टोलीलाई अम्बाथान क्याम्पमा मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशकले आयोजना सम्बन्धी ‘ब्रिफिङ’ गर्ने कार्यक्रम छ। त्यसपछि प्रधानमन्त्रीले ग्याल्थुममा स्थानीय पदाधिकारीसँग पनि अन्तरक्रिया गर्नेछन् ।

उनी सिन्धुपाल्चोकबाट साँझ ५ बजेपछि फर्किने कार्यक्रम छ।