FLASH NEWS

फरक उद्देश्य भएका तत्वहरु एकठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण हुँदैन : ओली


नेपाल आवाज २ असार २०८०, शनिबार १७:३१ मा प्रकाशित १६१५ पाठक संख्या

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरक उद्देश्य भएका तत्वहरु एकठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने टिप्पणी गरेका छन्।


शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै समाजवादी मोर्चा बनाउने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपालगायतका पार्टीहरुको निर्णयप्रति इंकित गर्दै फरक उद्देश्य भएका तत्वहरु एकठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने टिप्पणी गरेका हुन्।

उनले समाजवादी मोर्चा बनाउने कुरा एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन मात्रै भएकोले डराउनु आवश्यक नरहेको बताए। अध्यक्ष ओलीले सँगै काम गरेका नेताहरुलाई आफूले राम्रोसँग चिनेकाले कुनै नयाँ कुरा नरहेको जिकिर गरे।

उनले भने, ‘अब गठबन्धनमात्रै नपुगेर एउटा समाजवादी मोर्चा बनाउने रे। समाजवादी मोर्चा किन बनाउनेभन्दा एउटा नेकपा एमालेसँग मुकाबिला गर्न र अर्को कांग्रेस तर्साउन। समाजवादी मोर्चा बनाएर हुन्छ के? किन बनाउने, तिनै चिनेका मान्छे हुन्, सँगै हिँडिरहेको हो, लिभिङ टुगेदर चलेकै थियो छ त।’

उनले थपे, ‘हामी एउटा यस्तो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्छ जो देश, जनता, विकासप्रति समर्पित छ। चारतिर फर्किएका चारतिरका फरक उद्देश्यका तत्वहरु एकठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति बन्दैन। एकछिन एमालेलाई सरकारबाट बाहिर राख्ने हुनसक्छ, २०८४ सम्म हुनसक्छ। हामी अब मिसन ८४ को तयारीमा छौँ। हामीलाई कसैले राष्ट्रिय शक्ति बन्नबाट रोक्न सक्दैन।’

अध्यक्ष ओलीले देशप्रति समर्पित राष्ट्रिय शक्ति बनाउनका लागि एमाले लागिपरेको उल्लेख गरे  । जनताप्रति, सुशासनप्रति, विकासप्रति र नेपाल जनताले चौतर्फी विकास गरेर देशका नागिरिकले सुरक्षा पनि पाउन, न्याय, सम्मान पनि पाउन  र सुखी जीवनयापन गर्न पाउने राष्ट्रिय शक्ति स्थापना गर्न खोजको उल्लेख गरे ।

उनले आफ्नो ५८ वर्षे राजनीतिक जीवनमा कुनै र कसैप्रति पनि झुटो आरोप नलगाएको र तथ्यमा आधारित आरोपमात्रै आफूले लगाउने गरेको दाबी गर्दै आफूले लगाएका हरेक आरोपको जवाफ दिन आफू तयार रहेको बताए।