FLASH NEWS

२०८४ को निर्वाचनमा रास्वपा सबैभन्दा ठूलो पार्टी बन्नेछ: सभापति लामिछाने


नेपाल आवाज २ असार २०८०, शनिबार २०:०५ मा प्रकाशित २१९७ पाठक संख्या

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचन २०८४ मा वडादेखि केन्द्रसम्म उपयुक्त उम्मेदवार बनाउने तयारीमा जुट्न आह्वान गरेका छन् ।


रास्वपाको बागमती प्रदेश समितिद्वारा आज आयोजित टोखा नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नजिक वृक्षारोपण कार्यक्रममा सभापति लामिछानेले आगामी निर्वाचनलाई लक्षित गरेर सङ्गठन बिस्तारमा जुट्न आह्वान गरेका हुन् ।

‘विसं २०८४ को निर्वाचनमा रास्वपा सबैभन्दा ठूलो पार्टी बन्नेछ’, उनले भने, ‘वडादेखि केन्द्रसम्म उपयुक्त व्यक्तिलाई उम्मेदवारका रूपमा तयार गर्ने योजना छ ।’

सभापति लामिछानेले गलत नियत बोकेर पार्टीभित्र प्रवेश गर्न खोज्नेलाई रोक्नका लागि वडादेखि केन्द्रसम्म विधि र विधान बनाइने उल्लेख गरे ।

यसैबीच, आजै काठमाडौं निर्वाचन क्षेत्र नंवर ७ को प्रथम क्षेत्रिय भेलालाई सम्बोधन गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सांसदहरुलाई पार्टीबाटै निष्काशन गर्न चुनौती दिएका छन् ।

लामिछानेले आफ्ना सांसदको अडियो टेप सार्वजनिक हुनेवितिकै साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरिएको भन्दै शरणार्थी प्रकरणमा जोडिएका सांसदहरुलाई पार्टीबाटै निष्काशन गर्न सम्बन्धीत दललाई चूनौति दिएका हुन् ।

सिंहदरबार र बालुवाटारमा पैसा बुझ्नेहरु पुर्पक्षका लागि जेल चलान भएको अवस्थामा निर्वाचन क्षेत्रमा पुनः निर्वाचन हुने गरि निष्काशन गरे आफुहरु प्रतिष्पर्धामा उत्रने उनले बताए । उनले रास्वपाभित्र भ्रष्टाचार लगायतका क्रियाकलाप मात्रै नभई सपनामा पनि भ्रष्टाचार गरिएको देख्न पाउने छुट नरहेको उल्लेख गरे ।

लामिछानेले मुलुकमा भएका परिवर्तनको मानमर्दन गर्ने छुट कसैलाई पनि नभएको भन्दै जनताले चाहेको परिवर्तन बल्ल सुरु हुन लागेको बताए । त्यस्तै उनले देशका बिभिन्न स्थानमा बजेको घण्टीको आवाज अब नरोकिने भन्दै आगामी निर्वाचन केन्द्रीत कार्यक्रममा जुट्न आह्वान गरे ।