FLASH NEWS

भ्रष्टाचार गतिविधिमा संलग्न कुनै पनि नेतालाई पार्टीले प्रतिरक्षा गर्नु हुँदैन : विश्वप्रकाश शर्मा


नेपाल आवाज २ असार २०८०, शनिबार २०:२८ मा प्रकाशित २११९ पाठक संख्या

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको आरोपमा तानिएका नेताहरुको प्रतिरक्षा राजनीतिक दलहरुले गर्न नहुने बताएका छन् ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा फसेका कांग्रेस नेता बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने दबाब बढिरहेका बेला उनले त्यस्तो बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार गतिविधिमा संलग्न कुनै पनि नेतालाई पार्टीले प्रतिरक्षा गर्न नहुने बताए ।

कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) जस्ता राजनीतिक पार्टीले आफ्नो पार्टीको अमूक नेताहरुलाई निर्दोष सावित गर्ने प्रयास गर्न नहुने उनको भनाई छ ।

महामन्त्री शर्माले नेताहरुलाई दोषी करार गर्ने संविधान, कानुन र राज्यका निकाय भएकाले राजनीतिक दलहरुले त्यसले लिएको निष्कर्षलाई मानेर अघि बढनुपर्ने बताए ।

राजनीतिक दलहरुले भ्रष्टाचारको आरोपमा परेका नेताहरुलाई प्रतिरक्षा नगरी स्वतन्त्र ढंगले सम्बन्धित निकायलाई छानबिन गर्न दिने भनेको मुलुकको सुशासनका लागि महत्वपूर्ण कदम हुने पनि स्मरण गराए ।

‘यो देशमा कानुन छ । यो देशमा संविधान छ । यो देशमा अख्तियार छ । यो देशमा अदालत छ । तिनले भन्ने हो कि तिम्रो दलको नेता निर्दोष छ, लिएर गएर पार्टीको नेतृत्व गराऊ’, उनले भने, ‘अथवा तिम्रो दलका नेता दोषी देखिनुभयो । नख्खु जेलमा भेट्न जाऊ भन्ने कुरा कसले गर्छ ? भन्दा अदालतले गर्छ । त्यो कर्ममा कांग्रेस, एमाले, माओवादी जस्ता दलले कसैले प्रतिरक्षा नगर्ने । र, कोही पनि निर्दोष नफसून । र, कोही पनि दोषी नउम्किउन भन्ने मनोविज्ञान बनाउने कुरा पनि सुशासनको एउटा कदम हुन्छ ।’