FLASH NEWS

बाढी–पहिरोको वितण्डा : कोशीका ३ जिल्लामा २५ जना बेपत्ता, सडक सम्पर्क विच्छेद


नेपाल आवाज ३ असार २०८०, आईतवार १०:०६ मा प्रकाशित १७८९ पाठक संख्या

काठमाडौं – मनसुन सुरु भएसँगै परेको वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा ठूलो क्षती भएको छ ।


अभिरल वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा बाढी र पहिरोले जनजीवन प्रभावित बनेको छ।

कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन् । १ जनाको मृत्यु भएको छ ।

ताप्लेजुङ: पहिरोमा ४ जना बेपत्ता

ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनासहित चार जना बेपत्ता भएका छन् ।

गएरातिको पहिरोमा पुरिएर सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा यादव बुढाथोकीकी श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाती प्रज्ज्वल बेपत्ता भएका हुन् । सोही स्थानका गणेश तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बुका अनुसार वेपत्ता भएका चारै जनाको खोजीकार्य जारी छ ।

गएराति ताप्लेजुङमा भारी वर्षा भएको थियो । बाढीले दोभान, ढुंगे साँघु लगायतका क्षेत्रमा कटान भएको र केही स्थानमा सडकसमेत अवरुद्ध भएको प्रारम्भिक विवरण आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण संकलनको काम जारी छ ।

बिहीबार राति पनि वर्षा र बाढीले सदिङ्वा र सिरिजंगामा क्षति पुर्‍याएको थियो । बाढी पहिरोले सुरुमखिम-खेवाङ-याम्फुदिन जोड्ने मोटरेबल पुलको एकातर्फको भाग भत्काएको थियो भने काबेली हाइड्रो पावरको गोदाममा राखिएका सामान बगाएको थियो ।

कञ्चनजंघा मावि, याम्फुदिन प्रहरी चौकी र स्थानीयका केही घर जोखिममा छन् ।

पाँचथर:बाढीले बगाउँदा ५ जना बेपत्ता

गएराति हेवा खोलामा आएको बाढीमा परेर पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम-१० का सन्जोग लोवा, फिदिम-४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष, एलिसा माझी र फिदिम-४ हेवा खोलाबाट एक जना रहेका छन् ।

यस्तै, फालेलुङ-३ खोलाघारी सेपीमा पहिराले पुरेका एक बालकको सकुशल उद्धार भएको वडाध्यक्ष शक्ति केरुङले जानकारी दिए ।

बाढीले ठूलो भौतिक क्षति भएको हुनसक्ने प्रहरीको अनुमान छ । तर,  पूरै विवरण आउन बाँकी रहेको डीएसपी खतिवडाले बताए ।

बाढीले जिल्लाका पाँच वटा पुल बगाएको छ । मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ जोड्ने हेवाखोला पुलसमेत बगेको छ ।पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको डीएसपी खतिवडाले बताए ।

तमोर करिडोरको ‘बेलीब्रिज’ पनि बाढीले बगाएको छ ।फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको छ ।

बाढीले याङ्वरक गाउँपालिका-३ र २ लगायत विभिन्न ठाउँमा ९ वटा घर बगेको जानकारी आएको प्रहरीले जनाएको छ ।

संखुवासभा:बाढीमा परेर १ जनाको मृत्यु,१६ जना कामदार बेपत्ता

संखुवासभाको हेवा खोलामा आएको बाढीमा परेर  एक जनाको मृत्यु हुनुको साथै चैनपुर नगरपालिका-४ स्थित उक्त खोलामा निर्माणाधीन जलविद्युत आयोजनाका १६ जना कामदार बेपत्ता भएका छन्।  जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारका अनुसार निर्माणाधीन सुपर हेवा हाइड्रोमा १९ जना कार्यरत रहेकोमा १६ जना बेपत्ता भएको र तीनको उद्धार गरिएको छ ।

बाढी पहिरोबाट वेपत्ता भएकाहरुको खोजी तथा उद्धारमा लाग्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट भएको मानवीय तथा धनजनको क्षति प्रति दुःख व्यक्त गरेका छन् ।

बाढी–पहिरोबाट ताप्लेजुङ,पाँचथर,संखुवासभा लगायतका जिल्लामा क्षति पुगेको र वेपत्ता भएको विवरण आएपछि उनले सामाजिक सञ्जालमार्फत वेपत्ता भएकाहरुको खोजी, उद्धार एव् राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकाय र कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।

ती जिल्लामा घर, पुल, सडक लगायतका संरचनामा पनि क्षति पुगेको प्रारम्भिक विवरण आएका छन् । प्रधानमन्त्री प्रचण्डले

बाढी पहिरो प्रभावित क्षेत्रमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न आम जनसमुदायमा पनि अपिल गरेका छन् ।