FLASH NEWS

भोलिदेखि काठमाडौँ महानगरभित्र भारतीय फिल्म चल्न नदिने बालेनको घोषणा


नेपाल आवाज ३ असार २०८०, आईतवार १७:१६ मा प्रकाशित २४३७ पाठक संख्या

काठमाडौं – काठमाडौं  महानगरपालिकाका मेयर बालेन शाहले भोलि (सोमबार) देखि काठमाडौं महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न नदिने घोषणा गरेका छन्।


भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नसच्याइएको हुँदा सोमबारदेखि कुनै पनि हिन्दी चलचित्र काठमाडौँ महानगरपालिकाभित्र चल्न नदिने उनले घोषणा गरेका हुन्।

उनले ‘आदिपुरुष’को उक्त संवाद हटाउन तीन दिनको अल्टिमेटम दिएका थिए। उक्त समयभित्र चलचित्रको संवाद नसच्याइएको हुँदा भोलिदेखि हिन्दी फिल्म चल्न नदिने उनले बताएका हुन्।

‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहितविपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ,’ उनले आइतबार फेसबुकमा लेखेका छन्। काठमाडौं महानगरका ३२ वडाभित्र १७ फिल्म हल छन् ।

फिल्म निर्माताले भारतमा उक्त संवादलाई आइतबार बेलुकासम्म सच्याएका छैनन् । बरु उल्टै फिल्मका गीतकार तथा लेखक मनोज मुन्तशीरले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको भ्रम सिर्जना गर्न खोजेका छन् ।

मेयर बालेन शाहले शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पनि पत्र पठाउँदै उक्त आपत्तिजनक संवाद नसच्चाए नेपालभर भारतीय फिल्मको प्रदर्शन रोक्न आग्रह गर्दै पत्र पठाएका थिए ।