FLASH NEWS

भारतीय फिल्म ‘आदिपुरुष’ विवाद : सरकारको प्रतिक्रिया – गम्भीर ध्यानाकर्षण !


नेपाल आवाज ३ असार २०८०, आईतवार १९:११ मा प्रकाशित १३८१ पाठक संख्या

काठमाडौं – भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर भइरहेको विवादमा सरकारले पहिलोपटक औपचारिक प्रतिक्रिया दिएको छ ।


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार वक्तव्य जारी गर्दै सेन्सर पास भइसकेको फिल्मलाई लिएर सञ्चारमाध्यम र सरोकारवाला निकायबाट जनाइएका आपत्तिको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सहायक प्रवक्ता विशाल सापकोटाद्वारा जारी विज्ञप्तिमा जेठ ३१ गते फिल्म जाँच गर्दा राष्ट्रिय विभूतिको रुपमा रहेकी जानकीलाई भारतीय बेटीको रुपमा प्रस्तुत भएको संवाद हटाउन लगाई सोपश्चात सेन्सर पासको प्रमाणपत्र दिएर सार्वजनिक प्रदर्शन गर्न अनुमति दिइएको उल्लेख छ ।

‘आदिपुरुष’ विवादमा काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगर क्षेत्रभित्र भारतीय फिल्मलाई निषेध गर्ने तयारी गरेको पृष्ठभूमिमा सरकारले विज्ञप्ति जारी गरेको हो ।

ओम राउत निर्देशित दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा प्रयुक्त उक्त संवादलाई हटाएर सेन्सर बोर्डले प्रदर्शन अनुमति दिइसकेको छ । तर काठमाडौंका मेयर बालेन्द्र साहले चाहिं भारतमा नसच्चाएसम्म काठमाडौं महानगरभित्रका हलमा प्रदर्शनमा रोक लगाउने घोषणा गरेका छन् ।

फिल्म निर्माताले भारतमा उक्त संवादलाई आइतबार बेलुकासम्म सच्याएका छैनन् । बरु उल्टै फिल्मका गीतकार तथा लेखक मनोज मुन्तशीरले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको भ्रम सिर्जना गर्न खोजेका छन् ।

सिनेमा हलमा महानगर प्रहरी

महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन नगर्न आग्रह गरेको छ । आइतबार महानगर प्रहरीको टोली बिभिन्न हलहरुमा पुगेर सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन नगर्न आग्रह गरेको हो । सो क्रममा महानगर प्रहरीले सोमबारदेखि नेपाली फिल्म मात्रै प्रदर्शन गर्न आग्रह गरेको थियो ।

महानगरपालिकाका प्रमुख साहको निर्देशनपछि नगर प्रहरीले सबै हलमा पुगेर भारतीय फिल्म प्रदर्शन नगर्न आग्रह गरेका हुन् । सो क्रमम हल सञ्चालकहरुले महानगरको निर्देशनलाई पालना गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले भने, ‘हामी मेयर बालेनको निर्देशन मान्न तयार छौँ ।’